श्रमाधान मेलामा १७ हजार ९२१ जनाले दिए रोजगारीका लागि आवेदन
रोजगारदाताबाट १४ हजार ७८८ श्रमिकको माग
![श्रमाधान मेलामा १७ हजार ९२१ जनाले दिए रोजगारीका लागि आवेदन](http://nepalwatch.com/wp-content/uploads/2024/04/dol-prasadd.jpg)
काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न गरेको ‘श्रमाधान रोजगार मेला’ मा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तथ्यांक सार्वजनिक गरेको हो ।
मन्त्रालयका सह सचिव एवम् प्रवक्ता गोविन्द प्रसाद रिजालले ४१ हजार ३२५ जनाले मेलाको अवलोकन गरेको तथ्यांक सार्वजनिक गरेका छन् । त्यस्तै, रोजगारदाताबाट १४ हजार ७८८ श्रमिकको माग भएको छ । मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्र सहितका ३२२ वटा स्टल राखिएको प्रवक्ता रिजालले बताए ।
मेला विभिन्न शिर्षकमा ३६ वटा कार्यशाला पनि सञ्चालन गरिएको थियो । संघिय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार गरी ३३५ संघ संस्थाहरुसँग सहकार्य गरिएको मेलाका संयोजक समेत रहेका रिजालले बताए । उनका अनुसार मेलाको कुल बजेट ९३ लाख ६ हजार ९६३ रहेकोमा ८५ लाख ३३ हजार ८६५ रुपैयाँ खर्च भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ मा रोजगारदाताले प्रतिवद्धता जनाए अनुसार रोजगारी प्रदान भए नभएको मन्त्रालयले रेकर्ड राख्ने बताए । ‘मेला मात्रै सम्पन्न भयो तर, रोजगारदाताले प्रतिवद्धता जनाए अनुसारको युवालाई रोजगारी दिए नदिएको बिषयमा मन्त्रालयले निरन्तर जानकारी लिनेछ,’ उनले भने । रोजगारीका आवेदन दिने युवाले पनि रोजगारी पाए नपाएको मन्त्रालयले जानकारी लिनेछ ।
मन्त्रालयले गत जेठ १७ गते ३० गतेसम्म सातवटै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गरेको थियो । मेलामा सीप विकास कार्यशालाहरु, नेटवर्किङ सत्रहरु, स्टलहरु र रोजगारीका अवसरहरुका प्यानल छलफलहरु सञ्चालन गरिएको थियो । जसमा १७६ भन्दा बढी विज्ञहरुले वक्ताको रुपमा सहभागिता जनाएका थिए । रोजगारी सिर्जना, योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम आप्रवासन, व्यवसायिक सीप विकास, उद्यमशिलता विकास र यस क्षेत्रका समस्या, चुनौती तथा आगामी कार्यदिशाका सम्बन्धमा छलफल चलाइएको थियो ।
ताजा अपडेट
-
मुकुल ढकालको प्रतिवेदनले भन्छ-रास्वपा ‘डम्पिङ साइट’ भयो
-
गाजाको ९० प्रतिशत जनसङ्ख्या विस्थापित
-
मेयर, उपमेयर र प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
दीर्घकालीन असर पर्ने कुनै काम नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन
प्रतिक्रिया