प्रचण्डको सचिवालयले भन्यो– नबाेलेका कुरा बाेलेकाे भनेर मिश्रले आफूअनुकूल प्रचार गरे
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको सचिवालयले भेटघाटको विषयवस्तुलाई रवीन्द्र मिश्रले आफूअनुकूल गलत ढंगले प्रचार गरेर भ्रम छरेको भन्दै त्यसको खण्डन गरेको छ ।
मंगलबार पूर्वप्रधानमन्त्री प्रचण्डसँग भएको भेटवार्तामा ‘द्वन्द्वका बेला पार्टीका अन्य नेता राजसंस्थाप्रति पूरै नकारात्मक भए पनि देशको हितको लागि राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा आफू रहेको, ०६२/६३ को जनआन्दोलनताका राजा ज्ञानेन्द्र अलि नरम भइदिएको भए परिस्थिति अर्कै हुन्थ्यो’ भन्ने कुरा प्रचण्डले आफूसँग बताएको मिश्रले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । त्यस्तै, अहिलेकै स्थितिमा मुलुक अघि बढ्न नसक्ने निचाेडमा रहेका प्रचण्डले तत्कालीन राजा महेन्द्रलाई भिजिनरीका रूपमा प्रशंसा गरेको पनि उल्लेख गरेका थिए ।
‘पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गज्जबका भिजिनरी राजा रहेछन्,’ प्रचण्डका निचोडलाई सातबुँदामा प्रस्तुत गरेका मिश्रले दोस्रो बुँदामा लेखेका थिए ।
१० वर्षे सशस्त्र संघर्ष, राजा र राजसंस्थालाई हेर्ने पार्टीको दृष्टिकोणविपरीत प्रचण्डको भनाइ भन्दै मिश्रले सार्वजनिक गरेकाे बुँदाले माओवादी वृत्तमा तरंग सिर्जना गरिरहेका बेला उनको सचिवालयले भेटवार्ताका क्रममा त्यस्ताे अभिव्यक्ति नदिएकाे स्पष्ट पारेकाे हाे ।
प्रचण्डको सचिवालयका सदस्य रमेश मल्लले शान्ति र संविधान निर्माणको नेतृत्व लिँदै देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमा अघि बढाइरहनुभएका प्रचण्डकाे याेगदान अवमूल्यन हुनेगरी मिश्रले बोल्दै नबोलेका कुरालाई राजनैतिक स्वार्थअनुकूल प्रस्तुत गरेको बताएका छन् । मिश्रले राजनीतिक संस्कार नदेखाएको आरोप लगाउँदै उनले सस्तो प्रचारबाजीमा नलाग्न सुझाए ।
‘‘पन्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोहि नेपाली भ्रममा होलान् र मिश्र जी ? तसर्थ यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि ?,’’ सचिवालयमार्फत एक पोस्टु सार्वजनिक गर्दै मल्लले भनेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया