NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

नुवाकोटको ककनी–२ र उदयपुरको त्रियुगा–१२ माओवादीको पोल्टामा

काठमाडौं । नुवाकोटको ककनी–२ र उदयपुरको त्रियुगा नगरपालिका–१२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

उपनिर्वाचनको अन्तिम मत परिणाममा यी दुई वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।

नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कृष्ण घिमिरे (मिलन) विजयी बनेका छन् ।

घिमिरे एक हजार ८५ मतका साथ वडाध्यक्षमा विजयी बनेका हुन् । घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले पाँच सय ८७ मत पाए ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का यमबहादुर लामाले तीन सय ४१, राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गलसिद्वि तामाङले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापाले २८, मङ्गोल नेशनल अर्गनाइजेसनका किरण तामाङले २६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का मानबहादुर लामाले २३, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङले १६ र नेपाल मजदुर किसान पार्टीका माइली माया तामाङले १४ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवारद्वय सोनु तामाङ र रमेश पुडासैनीले एक÷एक मत पाए ।

त्यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नविनकुमार वान्तवा राई निर्वाचित भएका छन् । वान्तवा नौ सय २३ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लक्ष्मी नारायण चौधरीले छ सय आठ मत पाए । आयोगका अनुसार नेपाली कांग्रेसका सञ्जीव काफ्लेले तीन सय ५९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का निर्मला चौधरीले तीन सय १२, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलले दुई सय दुई, स्वतन्त्र उम्मेदवार बजरङ्गीकुमार दासले ३०, जनमत पार्टीका प्रमोद मलाहा सहनीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु साहले १७ र नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरीले सात मत पाए ।