एमालेबाट भीम रावल निष्कासित, पाण्डे र तिम्सिना निलम्बित

काठमाडौं । नेकपा (एमाले) ले फरक मत राख्दै आइरहेका नेता भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ । स्थायी समिति सदस्य बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई भने ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गरिएको छ ।
बुधबार बसेको एमाले सचिवालय बैठकले पार्टी अनुशासनविपरीतको कार्य गरेको ठहर गर्दै तीन नेतामाथि कारबाही गर्ने निर्णय लिएको हो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले रावलले निरन्तर पार्टीलाई कमजोर पार्ने अभिव्यक्ति दिएकाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जानकारी दिए ।
पाण्डे र तिम्सिनाले पार्टी अनुशासनविपरीत कार्य गरेको स्वीकार नगरेकाले ६ महिनाका लागि निलम्बन गरिएको सो पार्टीको भनाइ छ ।
व्यवसायी मीनबहादुर गुरुङले पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गा एमालेले ग्रहण गरेपछि त्यसलाई स्वीकार गर्न नहुने अभिव्यक्ति तीन नेताले दिएका थिए । यसरी विवादास्पद व्यवसायीबाट जग्गा लिँदा स्वार्थको द्वन्द्व हुने र यसले स्वाभिमानी कार्यकर्ताको शिर झुक्ने उनीहरूको भनाइ थियो । तर यस्ता अभिव्यक्ति लगत्तै एमालेले तीन नेतालाई स्पष्टीकरण सोधेको थियो । रावलले स्पष्टीकरणको जवाफ नै दिएका थिएनन् भने पाण्डे र तिम्सिनाले बुझाएका थिए ।
आफूमाथि कारबाहीकोबारे टिप्पणी गर्दै रावलले यसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज भएको बताए ।
त्यस्तै, बिन्दा पाण्डेले व्यवसायीबाट कार्यालय निर्माण गर्न जग्गा लिन नहुने आफ्नो अभिव्यक्ति गलत नभएको दोहोर्याएकी छन् ।
ताजा अपडेट
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
-
‘वायुप्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने’
-
‘सगरमाथा संवाद’: पाहुनालाई गराइयाे हिमशृङ्खला दृश्यावलोकन
प्रतिक्रिया