सरस्वतीपूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र नभएर हाम्रो जीवनलाई सदैव उmर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको बताएका छन् ।
वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उनले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले विद्याकी देवी माता सरस्वतीको पूजा अर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीको रूपमा पुजिन्छ । आजको यस शुभ दिनमा आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षरारम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उनले उल्लेख गरेका छन् । सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्तपञ्चमीलाई मानिँदै आइएको छ ।
नवीनकार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनु पर्ने विवाह, व्रतबन्ध आदिजस्ता शुभकार्यका लागि यस दिनलाई रोज्ने प्रचलन पनि रहिआएको छ ।
आजको दिनलाई सरस्वती जन्मोत्सवको रूपमा पनि मनाइन्छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशःन्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ ।
राष्ट्रपति पौडेलले यस पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गर्दै सबैमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया