खुल्यो बुटवल–नारायणगढ सडक
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१, दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको सडक राति ९ः०० बजेदेखि सञ्चालनमा आएको हो ।
विनयी खोलामा डाइभर्सन बनाएर एकतर्फी बाटो सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए । गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा विनयी खोलाको पुल भाँचिएपछि बनाइएको डाइभर्सन खोलाले बगाएपछि दिनभर सडक अवरुद्ध भएको थियो ।
बाढीले डाइभर्सन नै बगाएपछि सयौँ यात्रु तथा सवारी बीच बाटोमा अलपत्र परेका थिए । डाइभर्सन नहुँदा नारायणगढ–बुटवल भएर चल्ने सवारीसाधन पूर्ण रूपमा अवरुद्ध भएका थिए भने अत्यावश्यक साधनलाई होङ्सी सिमेन्ट उद्योगको बाटो भएर आवतजावत गराइएको थियो ।
दाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार भइरहेको अवस्थामा बिहीबार बिहान परेको वर्षाले सडक हिलाम्य भएपछि यस क्षेत्रको आवागमन अस्तव्यस्त बनेको छ । दाउन्ने क्षेत्रमा हिलो माटो हटाएर केही सहज बनाइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।
उक्त क्षेत्रमा गत बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो । त्यसैगरी आगामी वैशाख १ देखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर विस्तारको तयारी गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया