‘सबैलाई यसरी बृद्धभत्ता दिने हो भने राज्यको ढुकुटी रित्तिन्छ’

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरबाट समानुपातिक सभासद् बनेका सांसद बोहराले जनताको आवश्यकताको आधारमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।
वृद्धाभत्ता बढाएर समय सान्दर्भिक बनाउनुपर्छ
आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत सरकारले ज्येष्ठ नागरिकको भत्ता बढाएर मासिक रु चार हजार पु–याएको छ । यो आफैंमा राम्रो पक्ष हो । यसलाई राज्यको ढुकुटी हेरेर अझै बढाएर, सान्दर्भिक बनाएर लैजान पनि सकिन्छ । तर यो सुविधा सबैलाई दिने हो भने देशको आर्थिक अवस्थाले थेग्न सक्दैन ।
आर्थिक रुपमा सम्पन्न वृद्धवृद्धाका लागि वृद्धाभत्ता दिनुको कुनै अर्थ छैन । जो पीडित छ, सहाराविहीन छ, जसको केही पनि आयस्रोत छैन, त्यस्ता नागरिकलाई दिनु ठीक कुरा हो । सहाराविहीन वृद्धलाई दिनुपर्छ । जसका छोराछोरी सम्पन्न छन्, उनीहरुलाई भत्ता दिनु राम्रो कुरा होइन ।
विसं २०५१ मा सुरु गरिएको भत्ता पाउने उमेर हद ७५ वर्षबाट क्रमशः ७०, ६५ हुँदै ६० सम्म आइपुगेको छ । नेपालमा विभिन्न वर्ग, क्षेत्र, लिङ्ग र जातिलाई लक्षित गरी अहिले १० किसिमका सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै आएको छ । हामीले राम्रो गरेकालाई राम्रो भन्न सक्नुपर्छ । सरकारले दलित, एकल महिला, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, तोकिएका क्षेत्रका ज्येष्ठ नागरिक, विधवा, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति र बाल पोषणका रुपमा पनि भत्ता दिएको छ । यो राम्रो कुरा हो ।
देश विकासको निम्ति परिवर्तनकारी शक्ति मिल्नुको विकल्प छैन
देश विकास गर्ने हो भने ठूला राजनीतिक शक्तिहरु नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर अगाडि बढ्नुपर्छ । उनीहरु एकापसमा मिल्दा मात्रै देशको आर्थिक, सामाजिकलगायत सबै विकासले गति लिन्छ । अब यहाँ त एउटाले केही गर्न खोज्यो भने अर्कोले विरोध गर्ने चलन छ । त्यसो गर्न भएन । आपसमा मिलेर देशको विकास गर्नुपर्छ । दलहरु आपसमा लड्ने काम गर्नु भएन ।
दलले काम नगरेका कारण पूर्वराजाको कुरा उठेको हो
सरकार र राजनीतिक दलले राम्रोसँग काम नगरेका कारण पूर्वराजाको कुरा उठेको हो । हामीले राजाको पालामा भएका काम पनि देखेकै हो । दलहरु मिलेर जनचाहनाअनुसार देशको विकास गर्ने हो भने राजसंस्थाको कुरा उठ्दैन । गणतन्त्र आएपछि केही राम्रा काम पनि भएका छन्, नभएका होइनन् । तर धेरै काम हुनुपर्ने थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिका सरकारले जनताको पक्षमा काम नगरेका कारण जनतामा वितृष्णा आएको हो । यसलाई सच्याउन सरकारहरुले राम्रो काम गर्नुप-यो । जनताको पक्षमा काम गर्नुप-यो । उद्योगधन्दा खोलेर विदेश जाने युवालाई रोक्न सक्नुप-यो । राजनीतिक दलले काम नगरेपछि बेरोजगारी बढेको हो ।
संविधान कार्यान्वयन भएको छ, तर जति हुनुपर्ने हो, त्यति भएको छैन
राष्ट्रियसभाले संविधान बमोजिम धेरै कानून बनाएको छ । कतिपय महत्वपूर्ण कानून बनाउन बाँकी नै छन् । जनताका शिक्षा, स्वास्थ्य, रोजगारीको विषयमा सदनमा कुरा उठिरहेकै छ । सबै पार्टीका सांसदले निरन्तर यी विषय उठाउँदै आएका छन् । राष्ट्रियसभामा उठेका धेरै विषय कार्यान्वयनमा गएका छन् । दश वर्षमा संविधान संशोधन गर्न सकिने भन्ने छ । यसलाई संशोधन गर्नुपर्छ भन्ने मेरो पनि धारणा हो । खासगरी निर्वाचन प्रणाली, शासकीय स्वरुपमा संशोधन गर्न आवश्यक छ । सङ्घीयतालाई पनि सुधार गर्नुपर्ने जरुरी छ । सङ्घीय प्रणालीलाई पनि परिवर्तन गरेर नयाँ बनाउनुपर्छ ।
सुशासनको लागि सरकारले सही ढङ्गले काम गर्नुप-यो
रोजगारीका लागि सरकारले आर्थिक विकासमा जोड दिनुपर्छ । राज्यले रोजगारी सिर्जना गर्नुपर्छ । सबैलाई रोजगारी दिनुपर्छ । राज्यले बेरोजगारका लागि केही न केही व्यवस्था गर्नुपर्छ । सुशासन कायम गर्ने पक्षमा पनि सरकारहरुले ठोस काम गर्न सकेका छैनन् । भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा सरकार निर्मम हुनुपर्छ । जनताको विश्वास जित्ने किसिमले काम गर्नुपर्छ ।
ताजा अपडेट
-
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन
-
चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने
-
सुस्ता झोलुङ्गे पुल जोखिममा
-
भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र
प्रतिक्रिया