६ करोड आम्दानीको लक्ष्यसहित सामूहिक अकबरे खुर्सानी खेती

तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानी खेती शुरु गरिएको छ । मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानी खेती गरिएको भानुमती कृषक समूहका अध्यक्ष इमान थापाले जानकारी दिए ।
कृषि उत्पादन बढाई वडा नं. ८ का स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउन खुर्सानी खेती शुरु गरेको उनको भनाइ छ । जग्गामा एक लाख अकबरे खुर्सानीको बिरुवा रोपिएको छ । खुर्सानी खेतीबाट किसानले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन तथा वार्षिक ६ करोड २५ लाख आम्दानीको लक्ष्य लिइएको छ ।
यहाँ उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, खैरेनीटारका बजारमा बिक्री गर्ने योजना छ । हाल बजारमा प्रतिकेजी ३०० देखि ५०० रुपैयाँ थोक मूल्य छ । खुर्सानीको बिरुवा उत्पादनका लागि वडा नं. ९ ले एक लाख रुपैयाँ अनुदान दिएको थियो ।
यो वडाका आठवटा टोल मोहरीया, पाइमी, कटनछाप, पाथर्दी, थामडाँडा, सखेप, जौपानी र आस्पाग्दी भाडडाँडामा अकबरे खुर्सानी उत्पादनका लागि पकेट क्षेत्र बनाइने भएको छ । सो वडामा समुदायको आर्थिक वृद्धिका लागि अकबरे खुर्सानी सँगसँगै कफीखेतीका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको छ ।
प्रतिक्रिया