विद्यालयको आम्दानी बढाउन बुद्धचित्तको बिरुवा लगाइँदै
रामेछाप । विद्यालयको आन्तरिक स्रोत वृद्धि गर्न रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली माध्यामिक विद्यालयले विद्यालय परिसरमा बुद्धचित्तको बिरुवा रोपेको छ ।
सधैँ राज्यको भर परेर विद्यालय सञ्चालन गर्नुभन्दा वर्तमान अवस्थामा विद्यालय आफ्नै आन्तरिक स्रोतमा सञ्चालन गर्न जरुरी रहेकाले विद्यालय परिसरमा एक सय चार बोट बुद्धचित्तको बिरुवा रोपिएको मन्थली माविका प्रधानाध्यापक टङ्कप्रसाद दाहालले बताए । सुनापति गाउँपालिकामा रहेको डहु मावि बेथानले बिरुवा र बिरुवा रोप्न प्राविधिक सहयोग निःशुल्क रूपमा गरेको हो । उक्त विद्यालयले बुद्धचित्तको बिरुवा र फल उत्पादनबाट मनग्य आम्दानी गर्दै आएको छ ।
अरुको आशमा होइन, आफ्नो विद्यालय आफै सक्षम र सवल बनाउनु पर्छ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै जुनसुकै विद्यालयले माग गरेको बिरुवा र प्राविधिक सहयोग उपलब्ध गराउन तयार रहेको डहु माविका प्रधानाध्यापक बलबहादुर वलले बताए । मन्थली माविको अनुरोधपछि आफ्नो विद्यालयमा उत्पादन गरिएका बुद्धचित्तको बिरुवा मन्थली माविमा गएर रोप्न सहयोग गरेको उनले बताए ।
विद्यालयको अनुरोध स्वीकार गरी बिरुवासहित प्राविधिक सहयोग गर्ने डहु माविले अरु विद्यालयलाई पनि यस्तै सहयोग गर्ने हो भने धेरै विद्यालय आत्मनिर्भर हुने मन्थली माविका सहायक प्रधानाध्यापक चन्द्रसिंह धामीले बताए । जुनसुकै हावापानीमा पनि हुने यो फलका लागि धेरै मेहनत र परिश्रम गर्नु नपर्ने विद्यार्थीलाई पनि व्यावहारिक ज्ञान सिकाउनका लागि यसले प्रयोगात्मक अभ्यासको काम गर्ने भएकाले आफ्नो विद्यालयमा पठ्यपुस्तक पढाइका साथै यस्ता काममा कक्षा १० देखि १२ का विद्यार्थीलाई सहभागी गराइने गरेको डहु माविका प्रधानाध्यापक वलले बताए ।
विद्यालयहरू आत्मनिर्भर बनाउने आफ्नो अभियान भएकाले विद्यालय परिसरमा बुद्धचित्त रोप्न चाहना गर्ने जुनसुकै विद्यालयलाई पनि आफ्नो विद्यालयमा उत्पादन गरिएको बुद्धचित्तको बिरुवा निःशुल्क उपलब्ध गराउन सकिने उनले बताए । रोपेको करिब दुई वर्षदेखि नै उत्पादन दिने उक्त प्रतिकिलो रु तीन हजारदेखि रु पाँच हजारसम्ममा बोटबाटै बिक्री हुने गरेको छ ।
ताजा अपडेट
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने


प्रतिक्रिया