वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती
बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा निगुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्रमा निगुरो र अम्रिसो लगाएका हुन् ।
यहाँका तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनको ३०० रोपनी क्षेत्रमा खेती सुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । अन्य सामुदायिक वनमा पनि बिस्तारै खेती गर्दै जाने उनले योजना सुनाए । तीन वर्षअघि १२ रोपनीमा सुरु गरेको यो खेती हाल ३०० रोपनीमा फैलाउन सफल भइएको अध्यक्ष लामिछानेले बताए ।
यसका लागि वडा कार्यालय र स्थानीयको जनश्रमदान गरी हालसम्म तीन लाख लगानी भएको छ । हाल गाउँमै निगुरो र अम्रिसोको बिरुवा उत्पादन हुन थालेकाले बिरुवामा धेरै खर्च नभएको हो ।
रेश गाउँमा पहिले निगुरो र अम्रिसो नपाइए पनि हाल हरेक किसानले बारीको कान्लामा समेत यसको खेती गर्न थालेका वडाध्यक्ष लामिछानेले बताए ।
‘पहिले गाउँमा मान्छे धेरै हुन्थे, पशुचौपाया पनि धेरै पाल्थे, हाल बसाइँसराइले गाउँमा मान्छे कम छन्, पहिलेको जस्तो वस्तुभाउ पाल्दैनन्, त्यसले गर्दा वनमा झाडी पलायो’, उनले भने, ‘त्यसैले स्थानीयसँग सहकार्य गरेर झाडी फाँडेर निहुरो र अम्रिसो लगाएका छौँ, अरू बिरुवा पनि फाटफुट लगाएका छौँ । वनलाई पनि अब आम्दानीसँग जोडौँ भन्ने हिसाबले यो काम सुरु गरेका हौँ ।’
स्थानीय धनबहादुर जिसी हाल लगाइएको निगुरो र अम्रिसोको उत्पादन बढेमा सामुदायिक वनमा पैसा फल्ने बताउँछन् । तरकारीका रूपमा प्रयोग हुने निगुरो र अम्रिसोको माग र मूल्य पनि राम्रो भएकाले ठूला सहरमा निर्यात गर्न पनि सकिने उनको भनाइ छ । झाडी फाँडेर साना बिरुवा लगाएपछि वन्यजन्तुको आक्रमण हुने जोखिम पनि कम भएको जिसीको विश्वास छ ।
काठेखोला– ७ की उजेली शर्माले गाउँकै सामुदायिक वनबाट बिरुवा सङ्कलन गरी खेती बिस्तार गरेको बताइन् । ‘पहिले निहुरो खोज्नका लागि धेरै टाढाको जङ्गलमा जाने गरेका थियौँ, हाल नजिकैको सामुदायिक वनमा पाउन थालेको छ । काम नलाग्ने झाडीको ठाउँमा काम लाग्ने बस्तु रोपेपछि हामी सबै उत्साहित छौँ । उत्पादन बढी हुँदै गएपछि बिक्री गरेर यहीँबाट जीविकोपार्जन गर्न सकिने आशा छ’, उनले भनिन् । (रासस)
ताजा अपडेट
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने
-
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
अनौपचारिक क्षेत्रमा श्रमिक : ६६.२% श्रमिकले पूरा ज्याला नै पाएनन्


प्रतिक्रिया