विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु खाता रु तीन खर्ब सात अर्ब ३१ करोडले बचतमा देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा रु ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी रु आठ अर्ब २४ करोड रहेको थियो ।
त्यस्तै गत जेठ मसान्तसम्ममा शोधनान्तर स्थिति रु चार खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको थियो । चालुु विदेशी विनिमय सञ्चितिमा पनि उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष सुरु हुँदै गर्दा अर्थात् २०८१ असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो ११ महिनामा २५ दशमलव ९ प्रतिशतले वृद्धि भई रु २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु २२ खर्ब ७४ अर्ब ४७ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिती रु दुई खर्ब ९४ अर्ब ९२ करोड रहेको छ । गत जेठ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २० दमलव पाँच प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव छ महिनाको वस्तु आयात र १४ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया