NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

गुरुङ दम्पतीलाई व्यावसायिक स्याउ खेतीले दिएको आनन्द

जोमसोम । खाली जमिनमा मेहनत गरे के हुँदैन भन्ने दरिलो उदाहरण बनेका मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ)र छिरिङ ढोका गुरुङ । उनीहरूले अहिले जीवनभरको मेहनतको फल प्राप्त गरिरहेका छन् ।

गुरुङ सम्पत्तिलाई कुनै बेला बगरमा स्याउ लगाउँदा स्थानीय गाउँलेहरूले कुरा काटेर हैरान पार्दथे । छिरिङ भन्छिन् “तत्कालीन समय समय सम्झँदा नमज्जा लागे पनि अहिले भने राम्रै गरेको भन्ने लागिरहेको छ ।” एकै वर्षमा दुईवटा राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि झनै गुरुङ दम्पतीमा मेहनत र परिश्रमको हुटहुटी चलेको देखिन्छ ।

कालीगण्डकी करिडोर बेनी– जोमसोम– कोरोला सडक हुँदै उत्तरी सिमाना कोराला नाका जाने बाटो नजिकै तिरी गाउँ भए पनि विकट झैँ लाग्छ । एउटा पक्की पुलको आसामा वर्षौँ बिताइसकेका कालीगण्डकी नदी पारी तिरी गाउँका स्थानीयसँगै गुरुङ दम्पती आम मुस्ताङवासी किसानको गतिलो उदाहरण बनेका छन्। सडक सञ्जालले सहज रूपमा नछोए पनि गुरुङ दम्पतीले स्याउ र च्याङ्ग्रा बेचेरै वार्षिक लाखौँ आम्दानी गर्छन्।

गुरुङ दम्पतीले सुरुआत गरेको ङवाङ हिसी कृषि तथा पशुपक्षी अग्र्यानिक फर्मको करिब एक रोपनीबाट सुरुआत गरेका थिए । अहिले समग्र मुस्ताङ जिल्लाकै नमूना किसानमा आफ्नो पहिचान बनाइसकेका उनीहरूको अहिले करिब ६० रोपनी क्षेत्रफलमा स्याउ खेती फैलिएको छ । उनीहरूलाई दैनिक जसो स्याउ खेती स्याहार्ने, बगैँचा व्यवस्थापन गर्नेदेखि अन्य महत्त्वपूर्ण कार्यमा खर्चिनुपर्ने हुन्छ । बिहान उठेदेखि बेलुकीसम्म पूरै समय किसान भएर काम गर्न पाउँदाको क्षण उनी दुवै सम्पत्तिलाई बडो आनन्द आउने उनीहरू बताउँछन् । यद्यपि स्याउ बगैँचा व्यवस्थापन र च्याङ्ग्रा हेरालुसहित अहिले उनीहरूसँग करिब आठ जना मजदुर पनि छन् ।

कुनै बेला व्यावसायिक स्याउ खेती नहुने बगरमा बेकारको लगानी गर्‍यो भन्दै आङ्ग्या र छिरिङको खिसीटिउरी गर्ने गाउँलेहरू अहिले उनीहरूको सफलता देखेर चकित परेका छन् । करिब १८ वर्ष पहिला सन्तानको शिक्षादीक्षासहित घर खर्च चलाउने सोचबाट सुरु भएको स्याउ खेतीले आम्दानी दिन थालेपछि आङ्ग्या र छिरिङ दम्पतीले उक्त फर्मको स्थापना गरेका थिए । निरन्तर मेहनत र परिश्रम गरे सफलता मिल्छ भन्ने ज्वलन्द उदाहरणको साक्षी हुन् गुरुङ दम्पती । अहिले उनीहरूको कडा मेहनत र परिश्रमकै कारण पछिल्लो केही वर्षमा समग्र मुस्ताङवासीको प्रेरणाको स्रोत बनेको छ ।

पहाडको शिरमा पाँच सय भन्दा बढी च्याङ्ग्रा र खाली बगरमा रैथाने र आधुनिक स्याउ खेती गरेर वार्षिक पचास लाखसम्मको आम्दानी भए पनि मेहनत धेरै नै हुने गरेको छिरिङ ढोका गुरुले बताए। यसै वर्ष छिरिङ ढोका गुरुङ सरकारबाट, आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरुङ दम्पती पुनः गण्डकी प्रदेश सरकारबाटसमेत वर्षको सर्वोत्कृष्ट किसानको रूपमा सम्मानित भएका छन्। छिरिङ ढोका गुरुङले नगद रू दुई लाखसहितको राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार र गुरुङ सम्पत्तिलाई गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गण्डकी प्रदेशको सर्वोत्कृष्ट किसान घोषित गरेको छ ।

शुक्रबार पोखरामा कृषि भूमि व्यवस्था तथा सहकारी कृषि मन्त्री पद्यमा जिसी श्रेष्ठ, सचिव वासुदेव रेग्मीले नगद रु. ५० हजारसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गर्नुभएको हो । गुरुङ दम्पतीको स्याउ बारीमा अहिले करिब दुई हजार पाँच सय स्याउको बोट रहेकोमा यस वर्ष छिमेकी जिल्ला मनाङबाट पाँच सय बोट हाइडेन्सीटी (उच्च घनत्वमा उत्पादन हुने) प्रजातिको स्याउसमेत रोप्ने तयारी गरेका छन्।

गत वर्ष खर्च कटाएर ३५ लाख स्याउ बिक्रीबाट मात्रै आम्दानी गरेका छन्। पाँच सय च्याङ्ग्रा रहेको फार्मबाट गत वर्ष १३ लाख आम्दानी गरेका थिए । जलवायु परिवर्तनले पानीको मुहान सुकेपछि करिब १३ घरधुरी नै विस्थापित हुने जोखिममा रहेको अवस्थामा गाउँमा व्यावसायिक स्याउ खेतीसहित पशुपालनमा सक्रिय गुरुङ दम्पतीको यति बेला संघर्ष र सफलताको चर्चा भइरहेको छ ।