मल्कवाङमा पहिलोपटक बस सेवा, स्थानीयमा उत्साह
म्याग्दी — धवलागिरि गाउँपालिका–५ मल्कवाङमा इतिहासमै पहिलोपटक सार्वजनिक बस पुगेपछि स्थानीयवासीले उत्साहपूर्वक स्वागत गरेका छन्। जिल्लाको दुर्गम र भौगोलिक रूपमा चुनौतीपूर्ण मानिने यो क्षेत्र शनिबार बेनीबजारबाट ध१ख ३०८ नम्बरको बस पुगेपछि पहिलोपटक नियमित यातायात सेवामा जोडिएको हो।
बसका सवारीधनी जगत दगामी मगर र चालक श्याम मिजारलाई स्थानीयवासीले अबिर, फूलमाला र खुसीयालीसहित स्वागत गरे। वडाध्यक्ष अमर छन्त्याल, जनप्रतिनिधि, स्थानीय अगुवा, आमा समूह र युवा क्लबका सदस्यहरू समेत यस ऐतिहासिक क्षणका साक्षी बने।
२०७८ सालमा मात्र सडक सञ्जालमा जोडिएको मल्कवाङमा यसअघि जिप, ट्याक्टर र मोटरसाइकलबाहेक अन्य सवारी साधन प्रवेश गर्न नसक्ने गरेको वडाध्यक्ष छन्त्यालले बताए। उनका अनुसार गाउँपालिकाले अवरुद्ध सडक मर्मत गर्दै कठिन भिरालो ठाउँमा ग्रेड सुधार र घुम्ती मिलाएपछि बस गुड्न सक्ने वातावरण बनेको हो।
पाँच वर्षपछि बस चल्न थालेसँगै स्थानीयले यात्रा खर्चमा समेत उल्लेख्य राहत अनुभव गरेका छन्। पहिले मल्कवाङ–बेनी जिप भाडा प्रतिव्यक्ति रु १,००० तिर्नु पर्नेमा अहिले बस भाडा रु ७५० निर्धारण गरिएको छ। ४५ किमिको यात्रामा मल्कवाङ, भेडिखाल्डा, कुइनेखानी, आरवाङ र घण्टीवाङका ३०० बढी परिवार प्रत्यक्ष लाभान्वित भएका छन्।
म्याग्दी यातायात प्रालिका अनुसार बेनीबाट हरेक बिहान ७ बजे र मल्कवाङबाट ८ बजे दैनिक एक–एक वटा बस छुट्नेछ। असारदेखि असोजबाहेक आठ महिना सहज रूपमा बस सञ्चालन हुने व्यवस्था मिलाइएको छ।
पहिले मल्कवाङ र आसपासका बासिन्दाले मराङबेँसीसम्म पैदल झरेर मात्र बस लिनु पर्ने बाध्यता थियो। अब भने भेडिखाल्टा–मल्कवाङ सडक विस्तारका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ छुट्याएको अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए।
यस्तै, गण्डकी प्रदेश सरकारले बिमलुरवाङ–मराङबेँसी–अर्वाङ हुँदै मल्कवाङ जोड्ने सडक स्तरोन्नतिका लागि बहुवर्षीय योजनाअन्तर्गत चालु वर्ष एक करोड रुपैयाँ विनियोजन गरेको छ। प्रदेशसभा सदस्य रेशम जुग्जालीले सडक सुधारका कठिन खण्डहरूलाई प्रथमिकतामा राखेर स्रोत सुनिश्चितता गर्दै बहुवर्षीय ठेक्का प्रक्रियामा जाने तयारी भइरहेको बताए।
मल्कवाङमा बस प्रवेशले दुर्गम बस्तीलाई यातायात सुविधासँग नजिक्याउँदै स्थानीय जीवनशैली तथा आर्थिक क्रियाकलापमा नयाँ सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
ताजा अपडेट
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने


प्रतिक्रिया