NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ-जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकममध्ये हालसम्म रु पाँच अर्ब १८ करोड दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ ।

नेपाल बिमा प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै निर्जीवन बिमा कम्पनीमा परेका कूल तीन हजार ३०३ वटा बिमा दाबीको करिब रू २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्ममा उक्त रकम भुक्तानी भइसकेको जनाएको हो ।

सम्पत्ति बिमातर्फ करिब रू तीन अर्ब ८२ करोड र मोटर बिमातर्फ करिब रू एक अर्ब २२ करोड भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

ञ्जिनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फ करिब रु सात करोड ५० लाख, परिवहन बिमातर्फ करिब रू एक करोड ५५ लाख र अन्य बिमातर्फ करिब रू पाँच करोड ५० लाख अग्रिम भुक्तानीसमेत गरी दाबी रकम भुक्तानी भएको छ ।

अग्रिम भुक्तानीसहित करिब तीन अर्ब दुई करोड पुनःबिमा दाबी भुक्तानी

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनःबिमा कम्पनीले निर्जीवन बिमा कम्पनीलाई करिब रू तीन अर्ब दुई करोड अग्रिम भुक्तानीसमेत गरी पुनःबिमा दाबी भुक्तानी गरेको छ ।

नेपाल पुनःबिमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बिमा कम्पनीबाट परेका कूल दुई हजार ८६२ वटा पुनःबिमा दाबीको दाबी रकम करिब रू १६ अर्ब ६२ करोड रहेको अध्यावधिक तथ्याङ्क छ ।