NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

पूर्वीय दर्शनको जगमा प्रशासनिक सुधार गर्न सकिएला ?

काठमाडौँ । नेपालको सार्वजनिक प्रशासनलाई कसरी भ्रष्टाचारमुक्त र जनउत्तरदायी बनाउने भन्ने बहस चलिरहँदा पूर्वीय दर्शको जगमा टेकेर यसमा सुधार ल्याउन सकिनेबारे अध्ययन भएको छ ।

३६ वर्ष लामो प्रशासनिक अनुभव सँगालेका डा. त्रिलोचन पौडेलले पौरस्त्य (पूर्वीय) दर्शनका आधारमा नेपाली सार्वजनिक प्रशासनको सुधारबारे गरेको विद्यावारिधिले सुशासनको नयाँ मार्गचित्र प्रस्तुत गरेको हो ।

नेपाल संस्कृत विश्वविद्यालयबाट सम्पन्न यो शोधमा डा. पौडेलले वेद, उपनिषद्, रामायण, महाभारत र कौटिल्यको अर्थशास्त्र जस्ता प्राचीन ग्रन्थमा निहित ’आर्थिक सदाचार’ लाई आधुनिक व्यवस्थापनका सिद्धान्तहरूसँग जोडेर विश्लेषण गरेका छन् ।

डा. पौडेलको शोधले केवल पश्चिमा सिद्धान्तको अन्धअनुकरण गर्नुको सट्टा हाम्रै माटोको दर्शनलाई अपनाउन प्रेरित गरेको छ । जस्तैः धनलाई धर्मको अधीनमा राख्नुपर्ने र सार्वजनिक स्रोतको उपयोगलाई न्यायोचित र पादर्शी बनाउनुपर्ने मान्यतालाई जोड दिएको छ ।

शोधले पूर्वीय दर्शन र आधुनिक सार्वजनिक प्रशासनका सिद्धान्तहरूको तादात्म्यताबाट नेपालमा भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही प्रशासनिक संयन्त्र निर्माण गर्न सकिने निचोड प्रस्तुत गरेको छ। पौराणिक ग्रन्थहरूमा उल्लेखित नैतिकता, सदाचार र सत्यनिष्ठालाई नीतिगत तहमा अंगीकार गरी व्यवहारिक कार्यान्वयनमा ल्याउन सके सुशासनको जग मजबुत हुने देखिन्छ।

अनुसन्धानका क्रममा २२ जना वरिष्ठ विज्ञहरूसँग गरिएको अन्तर्वार्तामा ६० प्रतिशतले पौरस्त्य संस्कारलाई प्रशासनको आधार बनाउनुपर्नेमा जोड दिएका छन् । बाँकी ४० प्रतिशतको भने आधुनिक सार्वजनिक प्रणालीसँग आर्थिक सदाचारलाई जोड्नुपर्ने मत छ ।

यसअघिका अध्ययनहरू केवल प्राविधिक र अन्तर्राष्ट्रिय अभ्यासमा केन्द्रित थिए तर डा. पौडेलले मानवीय मूल्य, नैतिकता र ‘पुरुषार्थ सिद्धान्त’ (धर्म, अर्थ, काम र मोक्ष) लाई प्रशासनिक संरचनासँग जोडेका छन् ।

यो शोध केवल विश्वविद्यालयको पुस्तकालयमा थन्किने दस्ताबेज मात्र नभई नेपाली अर्थतन्त्र र नीति निर्माणका लागि एक ’गेम चेन्जर’ सावित हुन सक्छ ।

हाल नेपाल नागरिक उड्डयन प्राधिकरणमा ११ औँ तहको निर्देशकका रूपमा कार्यरत डा. पौडेलको यो बौद्धिक योगदानलाई विज्ञहरूले सार्वजनिक प्रशासनमा ‘क्रान्तिकारी कदम’ मानेका छन् । यो अनुसन्धानले आधुनिक व्यवस्थापन र प्राचीन ज्ञानबिच बलियो सेतुको काम गरेको छ।