रास्वपाले आज मधेसबाट चुनावी अभियान सुरु गर्दै, सार्वजनिक मञ्चमा पहिलो पटक देखिँदै छन् रवि–बालेन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको प्रचार अभियान सोमबार मधेशबाट सुरु गर्ने भएको छ । नयाँ राजनीतिक शक्तिका रूपमा देखापरेको रास्वपाको चुनावी अभियानको सुरुवाती कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन एकसाथ देखिँदै छन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको अघिल्लो दिन जनकपुरधामको तिरहुतिया गाछीबाट रास्वपाले चुनावी अभियान सुरुवात गर्न लागेको हो । रास्वपा आफैंले भने यसलाई ‘परिवर्तन उद्घोष सभा’को नाम दिएको छ । कार्यक्रममा बालेनले दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।
रवि र बालेन एकसाथ देखापर्दै
बालेन रास्वपामा खुल्नुुअघि उनको आगामी राजनीतिक यात्राबारे विभिन्न अड्कल र अनुमान गरिएका थिए । बालेन स्वयं पनि योबीचमा विभिन्न विकल्पहरूमा अघि बढेका थिए । अन्ततः गत पुस १३ गते रास्वपाबाट राजनीति गर्ने निचोड निकाल्दै उनले सो पार्टीका सभापति रवि लामिछानेसँग सातबुँदे सम्झौता गरेका थिए । जसमा बालेन समूहलाई रास्वपामा भूमिका दिनेदेखि बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जानेसम्मका विषय छन् ।
रास्वपामार्फत राजनीतिमा सक्रिय बनेका बालेनले आइतबार मात्रै काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) बाट राजीनामा दिएका छन् । मेयरबाट राजीनामा दिएको भोलिपल्टै उनी मधेशको कार्यक्रममा देखापर्दै छन् । उनीसँगै रास्वपा सभापति रवि लामिछानेले पनि उक्त कार्यक्रममा सम्बोधन गर्नेछन् । औपचारिक सार्वजनिक कार्यक्रममा रवि र बालेन पहिलो पटक एकसाथ देखापर्न लागेका हुन् ।यसअघि आइतबार मेयरबाट राजीनामा दिएर रास्वपा पार्टी कार्यालयमा बालेन र रवि एकसाथ देखिएका थिए ।
बालेन मधेसी पोशाक धोती र कुर्तामा उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ । आगामी निर्वाचनका लागि मधेसबाटै रास्वपाले चुनावी अभियान सुरु गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेशबाट उल्लेख्य जित हासिल गर्न नसकेकाले यहाँको माहोल सुधार्ने रणनीतिअनुसार जनकपुरबाट चुनावी अभियान सुरु गरिएको हुनसक्ने कतिपयको आकलन छ । त्यस्तै, मधेशको प्रतिनिधित्व गरेर प्रधानमन्त्रीको उम्मेदवारका रूपमा मैदानमा उत्रिएको सन्देश दिन पनि बालेनले जनकपुरलाई रोजेको कतिपयको बुुझाइ छ ।
रास्वपाका प्रवक्ता मनीषा झा भने मधेशबाट परिवर्तन र सुशासनका आन्दोलन सुरु भएकाले रास्वपाले जनकपुरबाट आफ्नो चुनावी अभियान सुरु गर्न लागेको बताउँछन् ।


प्रतिक्रिया