NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा बुुझाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले खेलकुद मन्त्री गुप्ताले पदबाट राजीनामा दिएको जनाएको छ ।

मन्त्री गुप्ता आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने मनस्थितिमा छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन मंगलबार हुँदैछ । त्यसैका लागि उनले उम्मेदवारी मनोनयको अघिल्लो दिन पदबाट राजीनामा दिएका हुन् ।

नागरिक सरकारको मन्त्री भएर पनि दलमा खुलेको भन्दै यसअघि बब्लुमाथि राजीनामा दिन दबाब पर्दै आएको थियो । तर उनले आफू कुनै दलमा नखुलेको भन्दै मन्त्री पदबाट राजीनामा गर्न अस्वीकार गर्दै आएका थिए ।

जेन–जी आन्दोलनको बलमा बनेको नागरिक सरकारमा सोही पुस्ताको प्रतिनिधित्व गर्दै मन्त्री बने पनि गुप्ता विभिन्न विवादमा परेका थिए । सबैभन्दा ठूलो विवाद अमेरिकामा आयोजना नै नगरिएको कार्यक्रममा जान मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराएको विषयमा भएको थियो । यद्यपि, उनले आफूमाथि लागेको उक्त आरोपको खण्डन गरेका थिए ।

चुनावमा सहभागी हुनका लागि नागरिक सरकारमा सहभागी मन्त्रीबाट आएको यो दोस्रो राजीनामा हो । यसअघि अर्का मन्त्री कुलमान घिसिङले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिएका थिए । उनी अहिले उज्यालो नेपाल पार्टीको तर्फबाट चुनावी अभियानमा छन् । सरकारकै अर्का विवादास्पद मन्त्री जगदीश खरेलले पनि उम्मेदवार बन्ने उद्देश्यका साथ पदबाट राजीनामा दिने मनस्थिति बनाएको बताइएको छ । यद्यपि, उनले अहिलेसम्म आफूले त्यस्तो सोच नबनाएको बताएका छन् ।