NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

निर्वाचनलाई भड्किलो हुनबाट रोक्न आयोगले गर्नैपर्ने कामहरू

नेपालको निर्वाचन प्रणाली महँगो हुनुका कारण खोतल्दा निर्वाचन आयोगतिर पनि फर्कनुपर्ने हुन्छ । निर्वाचनको प्रक्रियामा आयोगले के गर्न सकेन र के गर्नुपथ्र्यो भन्ने विषय महत्वपूर्ण हुन्छ । आजसम्मका निर्वाचनमा आयोगले नै दल र उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोक्दै आइरहेको छ । त्यस्तो खर्च तोकिएअनुरूप नै हुनुपर्छ । तर उम्मेदवारले बढी रकम खर्च गरे पनि तोकिएको सीमामै रहेर खर्च गरिएको विवरण पेश गर्ने भएकाले कारबाही गर्न सक्ने अवस्था छैन ।

कहीँ सार्वजनिकस्थलमा भाषण गर्दा वा छलफलका क्रममा कुनै नेताले आफूले यति खर्च गरेर जितेँ, फलानाले झन् धेरै खर्च गर्दा पनि हा-यो भनेर बढाइचढाइ गरेको म आफैंले पनि धेरै पटक सुनेको छु । तैपनि आयोगले यस्ता उम्मेदवारउपर कारबाही गर्न सकिरहेको हुँदैन । किनभने, कारबाही गर्नका लागि आवश्यक प्रमाण नै हुँदैन । यसो भन्दै गर्दा आयोगले चुनाव प्रचारप्रसारका लागि तोकेको खर्च सीमाले कुनै पनि दलको उम्मेदवारलाई पुगेको छ भन्ने विश्वास मलाई लाग्दैन । त्यसैले बरु यसको साटो निर्वाचन खर्चको सीमा नै नतोकिदिँदा हुन्छ कि जस्तो लाग्छ ।

केही समय एक नेताले सडक निर्माणका कारण आफ्नो निर्वाचन खर्च बढेको कुरा सुनाउनुभयो । उहाँको कुरा अलि अनौठो लागेर मैले कसरी होला भनेर सोधेँ । जवाफमा उहाँले पहिला पैदल हिँड्नुपर्दा एक–दुईजना सहयोगीले हुने गरेको तर अहिले सडक बनेपछि पाँच–सात वटा गाडीमा कार्यकर्ताहरू लैजाँदा, तिनलाई खुवाउने, पियाउने काम गर्दा हजारौं रूपैयाँ खर्च हुने गरेको सुनाउनुभयो ।

निर्वाचन आयोगले खर्च सीमा तोक्ने मात्रै नभएर गलत गर्नेलाई पदबाटै हटाउनेसम्मको अधिकार राख्छ । तर आयोगले अहिलेसम्म त्यो हदसम्म पुगेर कारबाही गरेको रेकर्ड छैन । निर्वाचनमा देखिएका विकृत्ति हटाउने हो भने आयोगले कानूनअनुसार कारबाही गर्ने हिम्मत देखाउनुपर्छ ।

मतदाता शिक्षा पनि निर्वाचन सुशासनका लागि अत्यन्तै महत्वपूर्ण छ । विगतमा हामीले प्रत्येक घरमा निर्वाचनको विधि–प्रक्रियाबारे चेतना अभिवृद्धि होस्, छोराछोरीले बाबुआमालाई पनि सिकाउन्, कहीँ कसैले गल्ती गरिरहेका छन् भने सतर्क गराउनु पर्छ भनेर नागरिक शिक्षा सुरु गरेका थियौं । काठमाडौंका विद्यालयहरूबाट थालिएको यो अभियानले अहिले पनि निरन्तरता पाइरहेको छ । मतदाता शिक्षा विद्यालय तहबाटै सिकाउनु प्रभावकारी हुन्छ । भोलि त्यहीँ नागरिक राजनीतिमा सक्रिय हुन्छ जो अहिले ८ कक्षादेखि १२ कक्षासम्म पढिरहेको छ । विद्यार्थीकालमै निर्वाचनबारे जानकारी भयो भने त्यो शिक्षा उसको घरसम्म पुग्छ । अझ हामीले त प्रत्येक विद्यालयमा वर्षको एक पटक संसद् नै बनाएर त्यसको अभ्यास गर्न खोजेका थियौं । यस्तो प्रक्रिया कैयौं देशहरूले  अपनाएका हुनाले मैले पनि त्यसलाई अवलम्बन गर्ने सोचेको थिएँ । तर त्यसले आकार लिएन । आगामी दिनमा यस्ता कार्य विद्यालय तहमा अघि बढाउनु उपयुक्त हुन्छ ।

स्थानीय तह बढी शक्तिशाली हुँदा सांसदहरू अलिक ओझेलिए जस्ता भएका छन् । हाम्रो निर्वाचन प्रणालीले पनि दुई किसिमका सांसदहरू निर्माण गरेको छ । एउटा पैसा पाउने सांसद र अर्को नपाउने सांसद । यसले सांसदहरूलाई न्याय गरेको छैन । त्यसैले हामीले जस्तो बनाए पनि एउटै किसिमको सांसद बनाउनुपर्छ ।

विकासे काममा वडाको सहभागिता हुनु स्वाभाविक नै हो । तर आफैंले सामग्री खरिद गर्ने, आफैं बाटो बनाउने काममा संलग्न हुने हो भने देशको हालत के होला ? अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका उजुरीमध्ये ५३ प्रतिशत स्थानीय तहकै हुनुले पनि त्यहाँको सुशासन अवस्थाको छनक दिन्छ ।

अनेक तरहले रकम जम्मा गर्ने र निर्वाचन नै किन्ने विकृत चलन अहिले देखापरेको छ । यो अभ्यास कायम हुँदासम्म र उम्मेदवारका लागि दलले आफैं खर्च गर्ने प्रणाली नबसालेसम्म निर्वाचन उद्योगको रूपमा सञ्चालन भइरहने परिपाटी बस्छ । सांसद निर्वाचित भएर उसलाई उद्योगको रूपमा काम गराउन थालिसकेपछि निर्वाचनमा सुशासन खोज्न असम्भव हुन्छ । अहिले हामी यो चक्रमा बेस्सरी भाँसिएका छौं । जसकारण सरकार र उम्मेदवार दुवैको निर्वाचन खर्च महँगो हुन पुगेको छ । के हामीले चाहेको निर्वाचन प्रणाली यस्तै हो त ? हामीले परिकल्पना गरेको समाज यस्तै हो ? यी विषयमा गम्भीर बहससहित निष्कर्षमा पुग्नुपर्ने समय आएको छ ।

निष्कर्ष :

नेपालको निर्वाचन प्रक्रिया लोकतन्त्रको आधारस्तम्भ भए पनि पछिल्ला दशकहरूमा यो अत्यधिक खर्चिलो बन्दै गएको छ । यसले सुशासनको गम्भीर संकटलाई उजागर गरेको छ । कानूनले तोकेको खर्च सीमा र व्यवहारमा हुने वास्तविक खर्चबीचको ठूलो अन्तरले निर्वाचनलाई औपचारिक प्रक्रिया मात्रै बनाउँदै लगेको छ, जहाँ पारदर्शिता, जवाफदेहिता र समान प्रतिस्पर्धाको मूल्य क्रमशः कमजोर बन्दै गइरहेको छ । निर्वाचन आयोगले तोक्ने खर्चको सीमा व्यावहारिक नदेखिनु, दल र उम्मेदवारले त्यसको उल्लंघनलाई सामान्य अभ्यासका रूपमा लिनु र राज्यका निकायहरू स्वयं कारबाही प्रक्रियामा कमजोर देखिनु निर्वाचनमार्फत सुशासन सुनिश्चित गर्ने लक्ष्यमा ठूलो बाधा बनेको छ ।

(निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त उप्रेतीले नेपालवाचको नीतिप्रधान बहस कार्यक्रम पोलिसी डायलगमा व्यक्त गरेको भनाइको सम्पादित अंश)

ताजा अपडेट

नेपालवाच विशेष