प्रधानन्यायाधीशले दिएनन् कांग्रेसका पूर्वसांसदहरूलाई भेटघाटको समय
काठमाडौं । विघटित प्रतिनिधिसभाका नेपाली कांग्रेसका सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेटघाट गर्ने कार्यक्रम अन्तिममा आएर स्थगित भएको छ ।
प्रतिनिधिसभा विघटनको निर्णयप्रति असन्तुष्ट कांग्रेस सांसदहरूले यसअघि बिहीबार बिहान प्रधानन्यायाधीशलाई भेट्ने समय पाएका थिए । व्यस्तताको कारण देखाउँदै राउतले समय नदिएपछि अन्तिम समयमा उक्त भेटघाट टरेको हो ।
कांग्रेसले एक सूचना जारी गर्दै प्रधानन्यायाधीशसँग आज हुने भनिएको भेटघाट विशेष कारणले स्थगित भएको जनाएको छ ।
कांग्रेसका एक नेताले प्रधानन्यायाधीश राउतको सचिवालयबाट आजका लागि निर्धारित भेट कार्यक्रम स्थगित गरिएको जानकारी प्राप्त भएको बताए ।
जेन–जी आन्दोलनको बलमा गठित सुशीला कार्की नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै कांग्रेसको तत्कालीन संस्थापन पक्षले संसद् पुनस्र्थापनाको माग गर्दै रिट दायर गरेका थिए । सर्वोच्चमा यससम्बन्धी डेढ दर्जन बढी रिट परेकोमा संवैधानिक इजलासले त्यसउपर प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीबाट लिखित जवाफ माग गरेर एकसाथ लगाउमा राखेको छ ।
गणेश खनिया/प्रशिक्षार्थी


प्रतिक्रिया