संसद्, सम्झना र सुवास नेम्बाङ्ग
दरबार हत्याकाण्डपछि गद्दीको बागडोर सम्हालेका राजा ज्ञानेन्द्रको महत्त्वाकांक्षा गद्दीमा मात्र सिमित थिएन । राजा वीरेन्द्रको वंश नाशपछि प्राप्त विरासतले उनको महत्त्वाकांक्षाले शिखर छोएको थियो । बाबुकै बिँडो धान्न आतुर देखिन्थे । संसद् विघटन गरी शासन सत्ताको बागडोर लिइसकेका थिए । उनले क्रमशः निरंकुशता लाद्न चाहेको कुरा प्रष्ट भइसकेको थियो। राजाको षड्यन्त्रविरुद्ध सातै दलको संयुक्त शहरकेन्द्रित “संसद् पुनर्स्थापना” को मागसहितको आन्दोलन चर्किएको थियो भने सत्ता हत्याएका राजा ज्ञानेन्द्रलाई जंगलबाट माओवादी आन्दोलनले थाल खाउँ कि भात खाउँ पारेको थियो । दुवैतर्फबाट चेपमा परेका राजा अन्ततः संसद् पुनर्स्थापना गर्न तयार भए । ०६३ साल वैशाख ११ गतेको शाही घोषणाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक वैशाख १५ गते बोलाइयो । सातै दलको आन्दोलनको नेतृत्व गरिरहनुभएका सात दलको सहमतिमा श्री गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो भने पुनर्स्थापित प्रतिनिधि सभाको सभामुख पदमा श्री सुवास नेम्बाङ्ग निर्वाचित हुनुभयो ।
बृहत् शान्ति सम्झौताअनुसार ने.क.पा. (माओवादी) समेतको ८३ सदस्य संख्यासहित संसद्भित्र रहेका सबै राजनीतिक दलहरूका सदस्यहरूसमेत जम्मा ३३५ सदस्यीय अन्तरिम संसद् गठन गरियो । अन्तरिम संसद्को सभामुख पदमा पनि सुवास नेम्बाङ्ग नै निरन्तर रहनु भयो । अन्तरिम संविधान र सोहीबमोजिमको कार्यसञ्चालन नियमावली अनुमोदन भएपश्चात् सोहीबमोजिम राजनीतिक गतिविधि अगाडि बढेको थियो । जंगलबाट सिधै संसदीय राजनीतिमा प्रवेश गर्दा ने.क.पा. माओवादीका सदस्यहरू प्रक्रियामा त्यति अभ्यस्त नहुनु स्वाभाविकै थियो । अन्य दलका सदस्यहरू तथा सचिवालयका कर्मचारीहरूसँग समेत केही समय दूरी राखेर प्रस्तुत हुँदा असहज परिस्थिति सिर्जना भएको थियो । यस्तो असहज परिस्थिति र मनोवैज्ञानिक रूपमा अत्यन्त तनावपूर्ण स्थितिमा समेत सबैलाई चित्त बुझाइ परिस्थितिलाई सहज बनाउने र सबैलाई जोड्ने (Bridge) काम बडो कुसलतापूर्वक सुवास नेम्बाङ्गजीले गर्नुभएको थियो । उहाँको कार्य तथा संसद् सञ्चालनको शैलीप्रति सबैको सहमति देखिन्थ्यो ।
राजा ज्ञानेन्द्रको असंवैधानिक हस्तक्षेप र संसद् विघटनविरुद्ध सर्वदलीय आन्दोलनको उत्सर्गमा भएको सहमतिअनुसार राजा संसद् पुनर्स्थापित गर्न सहमत भएअनुसार बिउँतिएको संसद् , सहमतिअनुसारकै सरकार गठन भई सरकारको नेतृत्व स्व. गिरीजाप्रसाद कोइरालाले गर्नुभएको थियो । पुनर्स्थापित संसद्को सभामुख पदमा नयाँ सभामुख चयन गर्ने सहमतिअनुसार सुवास नेम्बाङ्गजी संसद्को सभामुख पदमा निर्वाचित हुनुभएको थियो । सुवासजीको चयनमा स्व. गिरीजाप्रसादको सहमति र सहयोग रहेको बुझिन्थ्यो । यस हिसाबले गिरीजाबाबु र सुवासजीको वैयक्तिक सम्बन्ध अत्यन्त निकटको थियो ।
जंगलबाट सिधै संसदीय राजनीतिमा प्रवेश गर्दा ने.क.पा. माओवादीका सदस्यहरू प्रक्रियामा त्यति अभ्यस्त नहुनु स्वाभाविकै थियो । अन्य दलका सदस्यहरू तथा सचिवालयका कर्मचारीहरूसँग समेत केही समय दूरी राखेर प्रस्तुत हुँदा असहज परिस्थिति सिर्जना भएको थियो । यस्तो असहज परिस्थिति र मनोवैज्ञानिक रूपमा अत्यन्त तनावपूर्ण स्थितिमा समेत सबैलाई चित्त बुझाइ परिस्थितिलाई सहज बनाउने र सबैलाई जोड्ने (Bridge) काम बडो कुसलतापूर्वक सुवास नेम्बाङ्गजीले गर्नुभएको थियो
संसद्को महासचिव पदमा कार्यरत श्री सूर्यकिरण गुरुङ्ग पुनर्स्थापित प्रतिनिधि सभा र त्यसपछि रूपान्तरित अन्तरिम संसद्मा समेत संसद्को महासचिवको रूपमा रहनुभएको थियो । २०६४ सालमा तत्कालीन सरकारले उहाँलाई रुसको लागि नेपाली राजदतको पदमा मनोनित गरेपछि रिक्त हुने पदमा को भन्ने अन्योलतका केही समय रह्यो । संसद् सचिवालयको कर्मचारी वृत्तमा आफू Senior Most भए पनि संसद्भित्रका परिस्थिति आफूअनुकुल छैन भन्ने सम्झिएर संसद्को महासचिव हुने आकांक्षा हुँदाहुँदै पनि म पूर्णतः निष्क्रिय दैनिकी बिताइरहेको थिएँ । त्यसैबीच , रामजाने कहाँबाट कसरी हो विद्यमान परिस्थितिमा नाटकीय परिवर्तन हुन गई परिस्थिति आफूअनुकूल हुन पुग्यो । फलस्वरूप राजनीतिक सहमतिका बीच सचिवालयमै कार्यरत मर्यादाक्रममा ज्येष्ठ म स्वयंलाई जिम्मेवारी सुम्पने निर्णय भएअनुसार सभामुख नेम्बाङ्गले मलाई का.मु महासचिवमा नियुक्त गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार तथा वाणिज्यशास्त्रको अध्ययन गरी तत् सम्बन्धी शैक्षिक योग्यता भएको र सदनको संसदीय क्रियाकलाप तथा सभाको बैठक सञ्चालनमा खासै चासो नलिने तथा चाख नराख्ने भएकोले संविधान निर्माणसम्बन्धी काममा कत्तिको पकड राखेर आफूलाई मद्दत गर्नसक्ने हो भन्ने कुरामा सन्देह राखी मलाई महासचिव पदको जिम्मेवारी दिने कुरामा सभामुख स्व. नेम्बाङ्गको ठूलै हिच्किचाहट देखिन्थ्यो । तर सहमतिअनुसार बाहिरबाट नयाँ अनुहारलाई भित्र्याएर अनिश्चितता सिर्जना गर्न पनि उहाँ चाहनु हुँदैन थियो । जे होस्, ०६४ मंसिर २ गते सभामुखज्यूले मलाई अन्तरिम संसद् तथा तत्पश्चात आम निर्वाचन भई गठन हुन आउने संविधान सभाको कार्यसम्पादनसमेत गर्ने गरी कायममुकायम महासचिवको पदमा नियुक्त गर्नुभयो । त्यति ठूलो जिम्मेवारीसहित संविधान निर्माणको ऐतिहासिक जिम्मेवारीसमेत सम्हाल्न पाएकोमा म अत्यन्त खुसी भएको थिएँ । तर नियुक्ति दिने सभामुख भने त्यत्ति खुसी हुनुहुन्थेन । किनकि, नियुक्ति पत्र मलाई आफ्नो कार्यकक्षमा बोलाई शुभेच्छाका दुई शब्दसमेत नभनी नियुक्तिपत्र तत्कालीन संसद्का कानूनी सल्लाहकार श्री टेकप्रसाद ढुंगाना (हाल श्री सर्वोच्च अदालतका माननीय न्यायाधीश) हस्ते मलाई हस्तान्तरण गर्नुभएको थियो । मनमा मलाई पनि कस्तो कस्तो त लाग्यो तर संविधान निर्माण तथा कानून निर्माणको अत्यन्त sensitive स्थानमा मैले सन्तोषजनक कार्यसम्पादन गर्नसक्ने हो कि होइन भन्ने संशयले त्यसो भएको होला भन्नेमा म पूर्ण विश्वस्त थिएँ ।
का.मु. महासचिव नियुक्त भएको पत्र लिएर म कार्यालय समयपछि सोझै घरतिर लागेँ । भोलिपल्ट कार्यालय समयको पहिलो प्रहरमा म सभामुख नेम्बाङ्गसँग भेट गरी धन्यवाद ज्ञापन गर्न उहाँको कार्यकक्षमा प्रवेश गरेको थिएँ । थोरै संकोच एवम् असहज जस्तो वातावरणमा उहाँले बधाई दिनुभयो र शुभेच्छाका दुई शब्दहरूसहित सचिवालयमा रही कार्यसम्पादन निष्पक्ष ढंगले गर्नु, महासचिवको कार्यकक्षमा भेटघाट र चियापन गर्दै छलफल तथा संवादमा गफिन चाहने सांसदहरू उपस्थितिलाई सहजता साथ लिनु भन्ने निर्देशन दिनुभएको थियो । मैले त्यति महत्वपूर्ण पदको जिम्मेवारी बडो विश्वासका साथ दिनुभएकोमा हृदयदेखि नै आभार व्यक्त गर्दै व्यक्तिगत रूपमा पनि उहाँप्रति लोयल रही सचिवालयमा निष्पक्ष ढंगले कार्य गर्ने कुराको विश्वास दिलाएको थिएँ ।
त्यति ठूलो जिम्मेवारीसहित संविधान निर्माणको ऐतिहासिक जिम्मेवारीसमेत सम्हाल्न पाएकोमा म अत्यन्त खुसी भएको थिएँ । तर नियुक्ति दिने सभामुख भने त्यत्ति खुसी हुनुहुन्थेन । किनकि, नियुक्ति पत्र मलाई आफ्नो कार्यकक्षमा बोलाई शुभेच्छाका दुई शब्दसमेत नभनी नियुक्तिपत्र तत्कालीन संसद्का कानूनी सल्लाहकार श्री टेकप्रसाद ढुंगाना (हाल श्री सर्वोच्च अदालतका माननीय न्यायाधीश) हस्ते मलाई हस्तान्तरण गर्नुभएको थियो
संविधान सभाको निर्वाचनको मिति २०६४ साल चैत २४ गते सम्पन्न हुने कुराको घोषणा भयो । सहमतिअनुसार निर्धारित भएको ६०१ सदस्यीय संविधान सभाको बैठक सञ्चालन गर्न विद्यमान ग्यालरी हल अपर्याप्त हुने भएको र त्यति ठूलो संख्याको सभाको बैठक सञ्चालन गर्न असुरक्षित पनि भएकोले विकल्प खोज्नु पर्ने बाध्यात्मक परिस्थिति आइप–यो । तबसम्म अन्तरिम संसद् विघटन भइनसकेको र संविधान सभाको निर्वाचन पनि भइनसकेको स्थितिमा करिब २ महिनाको अवधिमा बैठकस्थलको व्यवस्थापन गर्नु कठिन कार्य थियो । अब सोध्ने, सल्लाह गर्ने आफूभन्दा उच्च अधिकारी पनि कोही नहुनु भएकोले केही समय अधिसम्म मैले पूर्वसभामुख रहनुभएका सुवास नेम्बाङ्ग, तत्कालीन मुख्य सचिव, गृह सचिव, सामान्य प्रशासन सचिवलगायतलाई संविधान सभा बैठकस्थल छनोट गर्न औपचारिक छलफलको लागि अनुरोध गरेँ । त्यसमा सभा प्रमुखबाट निवृत्त भइसकेको भए पनि उपस्थित भई छलफलमा भाग लिई हामीले एक मात्र उपयुक्त ठहर्याई छनौट गरेको बिआइसिसीलाई स्वीकृत गर्न सहयोग पुर्याउनुभएको थियो । सभामुख पदमा रहेका बेला वा नरहेको बेलामा समेत संसद् र संसद्सम्बन्धी काममा उहाँको सदैव सहयोगी भावना रहन्थ्यो ।
संविधान सभाको निर्वाचन सम्पन्न भयो । ने.क.पा. (माओवादी) दल सबैभन्दा ठूलो दलको रूपमा आएको थियो । शपथ ग्रहणको कार्यक्रम बडो भव्यताका साथ सम्पन्न भयो । आ-आफ्नो सांस्कृतिक पोशाक पहिरहन सक्ने र आफ्नो मातृभाषामा शपथ लिनसक्ने व्यवस्थाले गर्दा त्यस दिन संविधान सभाका सदस्यहरूको ठूलो मेला लागेको जस्तो देखिन्थ्यो । तत्पश्चात सभाको बैठक अध्यक्षको निर्वाचन सम्पन्न नभएसम्म ज्येष्ठ सदस्य श्री कुलबहादुर गुरुङ्गले गर्नुभएको थियो । केही समयपछि माननीय श्री सुवास नेम्बाङ्ग अध्यक्षको पदमा अत्यधिक मतसहित निर्वाचित हुनुभएको थियो ।
स्व. नेम्बाङ्गले संविधान सभाको अध्यक्ष पदको शपथ ग्रहण उहाँकै निर्देशानुसार मैले तत्कालीन राष्ट्रपतिसँग भेटेर कार्यक्रम आयोजना गरिदिन अनुरोध गरेको थिएँ । शीतलनिवास प्राङ्गणमा तत्कालीन राष्ट्रपति रामवरण यादवले एक भव्य कार्यक्रमका बीच संविधान सभाका सभामुख पदको सपथ ग्रहण कार्यक्रम सम्पन्न गर्नुभएको थियो । तत्पश्चात पद बहाल गरी संविधान सभाको बैठकलाई सम्बोधन गर्दै बैठक सञ्चालन गर्नुभयो । त्यो ओजपूर्ण, सफा, शुद्ध आवाजले गर्दा उहाँको व्यक्तित्व, क्षमता र सभाको महत्त्व तथा भव्यता स्पष्ट झल्कन्थ्यो । सानै शरीर, मध्यम उचाइका भए पनि सभा सञ्चालन गर्दा उहाँले निकाल्ने आवाज वेदका ऋचा पाठ गर्ने ब्राम्हणको भन्दा कम आकर्षक या ओजपूर्ण हुँदैन थियो । उहाँ बडो भद्र, विनम्र र विनोदी हुनुहुन्थ्यो । कहिल्यै अनावश्यक रूपमा वादविवाद गरी चर्को स्वर गर्नुहुँदैन थियो । मधुर आवाज, शालीन व्यक्तित्व र अत्यन्त सरल शैलीले गर्दा उहाँसँग काम गर्न मलाई कहिल्यै अप्ठ्यारो भएन । मैले सानातिना गल्ती गरेँ भने पनि सदैव सहज ढंगले लिनुहुन्थ्यो र मेरो कार्यसम्पादनमा वातावरणलाई सजिलो बनाइदिनुहुन्थ्यो ।
संविधान सभाको पहिलो बैठकमा “गणतन्त्र कार्यान्वयन” गर्ने विधेयक पारित गर्नुपर्ने, अन्तरिम संविधानको व्यवस्थाअनुसार बिहान ११ बजे शुरु हुनुपर्ने बैठक रातको ११ बजेसम्म पनि बस्न सकेको थिएन । विधेयक सदनमा पेश गर्नु पर्ने गृह मन्त्रीले निर्वाचनमा पराजय भएकोले प्रस्ताव प्रस्तुत गर्न नमिल्ने तर्क गर्दै वादविवाद लम्बिन गई पहिलो दिन नै दाँतमा ढुङ्गा लागेजस्तो अनुभव भयो ।
समय बित्दै गयो । म कायममुकायमकै जिम्मेवारीमा थिएँ । पद बहाल गरेको करिब छ महिना जति पछि स्विटजरल्याण्डको जेनेभामा हुनगइरहेको अन्तर व्यवस्थापिका संघको बैठकमा संविधान सभाका अध्यक्ष सुवास नेम्बाङ्गको नेतृत्वमा नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हामीहरू त्यसतर्फ गएका थियौँ । झण्डै एक हप्ताको भ्रमणको अन्तिम दिन स्वदेश फर्कनुअघि नेपाली राजदूतको निवासबाट जेनेभा विमानस्थलतर्फ निस्कनुअघि बैठकमा उहाँ र म मात्र भएको बेला अनायास उहाँले मलाई आफू नजिकै बोलाउनुभयो र अत्यन्त आत्मीय शैलीमा मेरो कायममुकायम स्थिति उपयुक्त समयमा झिकी दिने र निश्चित गर्न सम्माननीय राष्ट्रपतिसमक्ष नियुक्तिका लागि सिफारिश गरिदिने भएकोले रत्तिभर शंका नगरी निश्चिन्त भएर कार्य गर्नु भन्नुभएको थियो । यद्यपि, मलाई शंका त थिएन र पनि सभाका प्रमुखबाटै त्यति आत्मीयताका साथ आश्वस्त पार्नुभएकोले म अत्यन्त खुसी भएको थिएँ । त्यसो भन्दा उहाँको मप्रतिको प्रेम, सद्भाव र विश्वास अनुहारमा प्रष्ट झल्किन्थ्यो ।
दुई वर्षको समयावधि तोकी संविधान निर्माणको कार्य सम्पन्न गर्न निर्वाचित संविधान सभा म्याद थप गरी पटक-पटक समयावधि बढाउँदा पनि विवादको पोको फुक्न सकेन । संविधान सभाको बैठक प्रारम्भ भएलगत्तै सचिवालयले तयार पारी छलफल र स्वीकृत गर्न सभाले गठन गरेको संविधान सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिका मुख्यतः साना दलका सदस्यहरू बीच सहमति हुन नसक्दा संविधान निर्माणको अमूल्य समय निरर्थक वादविवादमै अल्झिएको थियो । त्यसकारण झण्डै छ महिना त्यसमा निरर्थक विवादमा खर्चिन परेको तितो अनुभव भएको थियो । उक्त गतिरोध तोड्न संविधान सभाका अध्यक्षले गर्नुभएको अथक प्रयास अत्यन्त सराहनीय थिए । आज ती कार्यहरू, त्यस्ता विवादको लागि विवाद या ती क्रियाकलापहरू केका लागि गरिएका थिए होलान् भनेर सम्झँदा बडो दुःख लाग्दछ ।
झण्डै अढाइ वर्ष जति मेरो नाउँको अगाडिको का.मु. को ट्यागले म स्वयम्लाई भन्दा पनि मेरा शुभेच्छुक सभासदज्यूहरूलाई अप्ठ्यारो महशुस हुँदो रहेछ । बराबर मसँग उहाँहरूले कायममुकायम किन नहटाइएको हो भनेर प्रश्न गर्ने गर्नुहुन्थ्यो । म त्यसमा किञ्चित पनि दुःख नभएको जानकारी दिन्थेँ । अनौपचारिक भेटघाट हुँदाका बेला माननीय सदस्यहरूले सभा अध्यक्षसँगसमेत मेरो कायम मुकायम नहट्नुको कारण सोध्ने र यथाशीघ्र का.मु. हटाइदिनुहुन आग्रह गर्ने गर्नुहुँदो रहेछ । धेरै जनाले त्यसरी सोध्न थालेपछि अध्यक्षज्यूलाई कहीँ मैले नै भनिदिन अनुरोध गरेकोले गर्दा पो त्यसरी सोधेका हुन कि भन्ने सम्झेर दबाब महसुस गर्नुहुँदो रहेछ । जबकि मैले माननीय सदस्यहरूलाई त्यस विषयमा केही नबोल्न, धेरै व्यग्रता नदेखाउन अनुरोध गर्ने गर्थेँ । यसैबीच एक दिन ०६६ सालको फागुन महिनातिर जस्तो लाग्छ, बैठक सञ्चालन गर्न सभामा प्रवेश गर्नु अगाडि होल्डिङ रुममा रहँदा उहाँले मेरो कायममुकायम हटाइदिने र निश्चित गर्न राष्ट्रपति महोदयकहाँ सिफारिश गर्न लागेकाले कुन दिन गर्ने हो छनोट गर्न भन्नुभयो । मैले घरमा र आफ्ना विश्वासका पण्डितजीसँग सल्लाह गर्दा ०६६ साल चैत ४ गतेको शुभ दिन उपयुक्त भएको सल्लाह पाएँ र त्यसैअनुसार जानकारी गराएँ । छानिएकै दिनमा हुने गरी सभाका अध्यक्ष सुवास नेम्बाङ्गले राष्ट्रपति डा. रामवरण यादवसमक्ष नियुक्तिका लागि सिफारिश गर्नुभयो । सोही दिन राष्ट्रपति महोदयले मलाई नेपालको अन्तरिम संविधान २०६३ तथा व्यवस्थापिका-संसद्का महासचिव तथा सचिवको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन, २०५५ अनुसार संविधान सभाको महासचिव पदमा नियुक्त गर्नुभएको थियो । ०६६ साल चैत ५ गते बिहीबार संविधान सभाका अध्यक्षसमक्ष महासचिव पदको सपथ ग्रहण गरेको थिएँ ।
भोलिपल्ट बिहान म उहाँको निवास पुगी सद्भाव एवम् विश्वासका साथ दिनुभएको अवसरको लागि आभार तथा कृतज्ञता ज्ञापन गरेको थिएँ । आगामी दिनहरूमा सभाको काम कारबाहीमा इमानदारीपूर्वक अझ बढी सहयोग पुर्याउने कुराको विश्वास दिलाएको थिएँ ।
दलहरूबीचको आपसी अविश्वास, संविधानका विषयमा रहेको विवाद बारम्बारको कार्यतालिका संशोधन, तीन तीन महिनाको संविधान सभाको अवधि थप जस्ता उदेकलाग्दा घटनाक्रम झेल्दै अन्ततः ०६८ मंसिर ९ को सर्वोच्च अदालतको ऐतिहासिक फैसलाअनुसार संविधान सभाको पछिल्लो पटक थप गरिएको थप गर्न नमिल्ने निर्णय भयो । फैसला हुँदाका दिनदेखि बाँकी अवधि झण्डै ५ महिना चानचुन थियो । यदि छिटो छिटो काम सम्पन्न गरौं भन्ने चेष्टा भएको भए सायद कार्य सम्पन्न गर्न सकिन्थ्यो । तर विवादै विवादले गर्दा गर्न हम्मेहम्मे नै पर्ने देखियो । शीर्षस्थ नेताहरूको विवाद समाधान समितिले धेरै प्रयास त गरेको थियो तर प्रमुख दलहरू अन्य सबै दल र स्वतन्त्र सभा सदस्यहरू नै धेरै विवाद गर्न थालेपछि संविधान सभाका सबैमा निराशा छाएको थियो । संविधान सभाको म्याद समाप्त हुने दिन बिहानैदेखि संविधानको संक्षिप्त स्वरूपमा भए पनि सहमतिमा पुग्ने प्रयास गरियो । बालुवाटारमा, सिंहदरबारमा र विभिन्न दलका मुख्य कार्यालयमा नेताहरू अनेकौँ बैठक बसे, विवादहरूलाई थाँती राखेर सहमतिमा पुग्ने प्रयास हुँदाहुँदै पनि सहमतिमा पुग्न नसकिएको भान अपराह्नदेखि नै हुन थालेको थियो । अन्ततः समय घर्कियो, सहमति हुन सकेन र २०६९ साल जेठ १४ गते रातिको १२ बजे उप्रान्त संविधान सभा स्वतः विघटन भयो ।
उता सभाका अध्यक्षज्यूले बिहान ६ बजेतिरै मेरो मोबाइलमा फोन गरी दिनभरिमा धेरथोर सहमति हुने र सहमति भएका विषयहरू समेटेर संक्षिप्त नै भए पनि संविधानको मस्यौदा अनुमोदनार्थ सदनमा पेश गर्ने र वितरणमा पठाउनु पर्ने मस्यौदाको छपाईको काम गर्न प्रेस, प्रुफरिडर र अन्य सम्बद्ध सबैलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको थियो । मैले सचिवालयका सबै साथीहरूलाई सोहीबमोजिम तयार रहन भनेको थिएँ । सबै प्रयासका बावजुद संविधान सभामार्फत् जनताका निर्वाचित प्रतिनिधिहरूबाट मुलुकको मूल कानून निर्माण गर्ने पहिलो प्रयास निरर्थक हुन पुगेको थियो ।
तत्पश्चात् करिब १ वर्ष अन्तरिम अवधिभरि राजनीतिक अन्योलता र शून्यता रहन गएको थियो ।
एक पटक विदेश भ्रमणमा रहँदा अनौपचारिक चिया गफका अवसरमा राष्ट्रिय सभाका अध्यक्ष स्व. बेनीबहादुर कार्कीले आफूले सभा सञ्चालन गर्दा समय व्यवस्थापन गर्न छलफलमा भाग लिने सांसद या मन्त्रीलाई निर्धारित समयभित्र रहेर आफ्ना भनाइहरू राख्न निर्देशन दिने, समयको हेक्का नराखी लम्बेचौडे भाषण गर्नेहरूको माइक्रोफोनको लाइन काटिदिने गरेको सुनाउनुभएको थियो । तर सुवास नेम्बाङ्गले भने चाहेजति समय दिने र कहिल्यै लाइन नकाटेको कुरा सगर्व भन्नुभएको थियो । सुवास नेम्बाङ्गको वकतृत्वकला, विषयवस्तुको ज्ञान र कर्णप्रिय आवाजमा प्रस्तुत गर्ने शैलीले स्व. कार्की ज्यादै प्रभावित हुनुहुँदो रहेछ । स्व. कार्कीको स्व. नेम्बाङ्गप्रतिको माया, प्रेम र विश्वासको भावना अद्वितीय रहेछ भन्ने बुझ्न सकिन्थ्यो । स्व. बेनीबहादुर कार्कीलगायत सबैजसो शीर्ष नेताहरूमा यस्तै विश्वास रहेको कुरा सहजै अनुमान गर्न सकिन्थ्यो ।
स्व. नेम्बाङ्ग भनेर कसैलाई नचिढाउने र गरेर कसैलाई नबिगार्ने, सकेसम्म सबैलाई समेट्ने, अत्यन्त नरम मिजासका साथ समभाव राख्ने र सोही किसिमका व्यवहार गर्ने निष्पक्षताका अद्वितीय व्यक्तित्व हुनुहुन्थ्यो । सभा तथा संविधान निर्माणको काम कारबाहीलाई सहज ढंगबाट अगाडि बढाउन सकियोस् भनेर उहाँले सबै खासगरी प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरूसँग निरन्तर भेटघाट, छलफल गरिरहनुहुन्थ्यो । एक किसिमले उहाँले ठूला दलका प्रमुख सचेतकहरू रहनुभएको किचत क्याबिनेट नै बनाउनुभएको थियो । सदनमा हुनसक्ने सम्भावित गतिरोधका बारेमा उहाँलाई सधैं नै बैठक बस्नु अगावै जानकारी हुन्थ्यो । प्रमुख सचेतकमार्फत र आवश्यक परे सिधै उक्त सम्बन्धित दलका नेतासँग भेटेर समस्या आउनै नदिन अथक प्रयास गर्नुहुन्थ्यो । उहाँको ओहदा, क्षमता र कार्यशैलीले गर्दा अक्सर सबैलाई प्रभावित पार्नु हुन्थ्यो र कार्य सम्पन्न गर्न उहाँहरूको सहयोग जुटाउनु हुन्थ्यो । सबैले मनपराउने र सबैले विश्वास गर्ने नेम्बाङ्गजस्तो सभामुख विगतमा कोही पनि हुनु भएन ।
स्व. नेम्बाङ्गका बारेमा एक पटक नेपाली कांग्रेसका प्रमुख सचेतक श्री लक्ष्मणप्रसाद घिमिरेजीले मेरो कार्यकक्षमा भेट हुँदा सुनाउनु भएको कुरालाई मैले सँधै सम्झिरहेको छु । स्व. नेम्बाङ्गसँगको पेशागत एवम् व्यक्तिगत सम्बन्ध सुमधुर एवम् मित्रतापूर्ण रहेको र सदनको कामकारबाहीमा धेरै निकट रहेर कार्यसूचीलगायत विषयमा एकअर्कालाई सहयोग गर्ने गरेको सायद नबुझेका कतिपय नेपाली कांग्रेसका सदस्यहरूले पार्टीको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक, संविधान सभा अध्यक्ष नेम्बाङ्गसँग आश्यकताभन्दा बढी निकट भई पार्टीको स्वार्थ रक्षा गर्ने कुरामा चुकेको सुन्नुपरिरहेकोले के त्यो कुरा सत्य हो त मनोहर बाबु भनेर सोध्नुभएको मलाई अहिले पनि सम्झना हुन्छ । मैले उहाँलाई त्यतिखेर भनेको थिएँ, “संविधान निर्माणको काम निर्विघ्नतापूर्वक सम्पन्न होस्, सदनको कामकारबाही निरन्तर अगाडि बढोस्” भन्ने नचाहने सांसद या राजनीतिक दल कसरी जनताको सही प्रतिनिधि हुन सक्छ त, हजुर ? त्यस्तो भन्ने र त्यस किसिमको धारणा राख्नेहरू गलत हुनुहुन्छ र श्री घिमिरेजीले अवलम्बन गर्नुभएको सभाध्यक्षसँग राख्नुभएको सुमधुर वर्किङ रिलेसनसिप नै सही एप्रोच हो जस्तो लागेको बताएको थिएँ ।
संविधान सभा अध्यक्ष स्व. सुवास नेम्बाङ्गको मप्रतिको अगाध विश्वासका कारण असंख्य राष्ट्रिय या अन्तर्राष्ट्रिय मञ्चहरूमा दिने औपचारिक वक्तव्यहरूको मस्यौदा गर्न आग्रह गर्नुहुन्थ्यो । धेरै लेखिसकेको थिएँ, त्यसतर्फ धेरै समय खर्चिएको र सभाको काममा समेत बाधा भएको ठानी एक पटक काठमाडौंमा हुने एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिको रूपमा दिनुपर्ने भाषण तयार पारी दिन भन्नुभएको थियो । मैले पहिले त अस्वीकार गरेँ र धेरै यस्ता झिनामसिना कार्यक्रममा समय खेर नफाल्न अनुरोध पनि गरेँ । तर आयोजकहरूसँग गर्नुभएको प्रतिवद्धता अनुसार जानैपर्ने भएकोले भाषणको मस्यौदा तयार पार्नु भन्नुभयो । मैले उहाँको आग्रह अवज्ञा गर्नसक्ने कुरा भएन । मैले NELTA (Nepal English Language Teachers Association) को काठमाडौंमा हुने भएको अन्तर्राष्ट्रिय सम्मेलनमा अतिथिको रूपमा दिने भाषणको मस्यौदा तयार पारी उहाँलाई दिएँ । कुनै परिवर्तन नगरी भोलिपल्ट बिहानको उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा उक्त मस्यौदाबमोजिम भाषण दिनुभयो ।
उद्घाटन सत्रको अन्त्यमा जब सबै जना बडो खुसी भएर उत्साहका साथ स्व. नेम्बाङ्गले दिनुभएको भाषणले सबैको हृदय छोएको र भारी प्रशंसा गरेका कुरा उहाँले सुनाउनुभएको थियो । उहाँ स्वयम् त्यसबाट अत्यन्त खुसी हुनुभएको थियो । कार्यक्रमपश्चात् नेपाली सैनिक मञ्चमा प्रजातन्त्र दिवसको कार्यक्रम भइरहेको थियो । कार्यक्रम सकिएपछि सबै विशिष्ट पाहुनाहरू त्यहाँबाट फर्किने क्रम शुरु भएको थियो । मैले पछाडि फर्केर विशिष्ट दीर्घातिर पुलुक्क हेरेको थिएँ, त्यहाँ आसिन नेम्बाङ्गसँग मेरो आँखा जुध्यो । तत्क्षण उहाँले हातको इशाराले फोन गर्न भन्नुभएको थियो । मैले हुन्छ भनेर टाउको हल्लाएँ । अपर्झट के पर्यो होला भनेर मेरो मनमा कौतुहल उत्पन्न भयो । मनमनै सम्झिएँ । घर पुगेर आरामले फोन गर्नुपर्ला भनेर म गाडी चढेर खुलामञ्चबाट रानीपोखरी पुग्दा नपुग्दै फेरि उहाँले नै फोन गर्नुभयो र अघि सम्मेलनको उद्घाटन सत्रमा दिएको भाषणले आयोजक तथा अन्य उपस्थित सहभागीहरूको मन छोएकोले धेरै नै तारिफ गरेको, प्रशंसा गरेको त्यस किसिमको प्रशंसा त्यसअघि कहिल्यै नपाएको कुराले अति खुसी भएको कुरा सुनाउनुभयो ।
आफ्नै दलका साथीहरू र दलप्रति सहानुभूति या झुकाव राख्ने आशाकुटी कर्मचारीहरूलाई समेत उहाँले पदमा रहँदासम्म निराश एवम् दुःखी नै बनाउनुभएको कुरा सचिवालयमा कार्यरत कर्मचारीहरूबाट सुनिने गथ्र्यो । त्यस हिसाबले उहाँको कार्यकाल सचिवालयको मुख्य प्रशासकको लागी रामराज्य काल (Golden Period) नै थियो भन्दा अत्युक्ति नहोला । त्यस्तो स्थिति न अगाडि थियो, न पछाडि रह्यो
सामान्यतया सुवासजी हत्तपत्त कसैको पनि त्यस ढंगले प्रशंसा गर्ने, राम्रो भयो भन्ने गर्नु हुदैन थियो । धेरै खुसी भए पनि बाहिर देखाउने उहाँको स्वभाव थिएन । तर त्यस दिनको भाषणमा आफूले पाएको प्रशंसाले धेरै खुसी हुनुभयो । त्यसबारे चर्चा नगरी रोकिन सक्नुभएन र आफूलाई लागेको कुरा व्यक्त गर्नुभयो । आगामी दिनहरूमा पनि त्यस्तै भाषण लेखिदिन भन्नुभयो । मैले सहयोग गर्न प्रयास गर्ने वचन दिएँ । त्यो दिन र त्यस कार्यले संविधान सभाका अध्यक्ष र मबीच अत्यन्त भातृत्वपूर्ण, प्रेम, सद्भावना र विश्वासको सम्बन्ध स्थापित गरेको थियो भन्ने मैले सम्झेको छु । जुन उहाँको जीवनको अन्तिम दिनसम्म कायम रह्यो ।
उहाँको वाचन शैली साह्रै सुन्दर थियो । अंग्रेजी होस् या नेपाली, उहाँको आवाज, शैली र प्रस्तुति बेजोडकै थियो । त्यसकुरामा उहाँ गड गिफ्टेड नै हुनुहुन्थ्यो । उहाँको जस्तो वाचन कला र क्षमता सदनका अन्य कुनै पनि नेताहरूमा पाइनँ । उहाँको वाचनका बेला निस्कने आवाज साह्रै ओजनदार हुन्थ्यो। उहाँको वाचन शैलीले गर्दा नै भाषण ओजपूर्ण हुने गर्दथ्यो । सभामुखको आसनमा बसेर जब उहाँ “माननीय सदस्यहरू, सभाको बैठकको कारबाही प्रारम्भ हुन्छ” भनेर जसै बैठक शुरु गर्नुहुन्थ्यो तसै सम्पूर्ण सभा उहाँको पकडमा आएको प्रष्ट देख्न सकिन्थ्यो । पत्रकार, सञ्चार जगतसँग उहाँको सम्बन्ध सँधै सुमधुर रहेको थियो । संसद्को रिपोर्टिङ गर्नेहरू तथा बाहिरका पत्रकारहरू सबैसँग उहाँले विशेष प्राथमिकताका साथ अन्तरङ्ग सम्बन्ध बनाउनुभएको थियो । संसारमा कहीँ पनि देख्न नसकिने, नपाइने खालको व्यवहार गर्नुहुन्थ्यो सञ्चारमाध्यमका साथीहरूलाई । यहाँसम्म कि उहाँको कार्यकक्ष मिडियालगायत सबैका लागि निर्बाध खुला थियो । भेटघाटको समय नलिई विना रोकतोक सिधै ढोका खोलेर सभाध्यक्षको कार्यकक्षमा प्रवेश गर्नसक्ने स्थिति आफैंले सिर्जना गर्नुभएको थियो । सदन, समिति या अन्य कहीँ पनि संसद्का कार्यकक्षहरूमा पत्रकार साथीहरू निर्वाध प्रवेश गर्ने गर्दथे । त्योभन्दा पनि बढेर उहाँ पत्रकारहरू संसद्का “पदेन सदस्य” हुन् भनेर अत्यधिक प्राथमिकता दिनुहुन्थ्यो । जुन कुरा कतिपय स्थितिमा त्यति मनासिव लागेको थिएन धेरैलाई ।
सांसदहरूका वृत्तमा होस् या सचिवालयमा उपलब्ध सबै किसिमका वृत्तिविकासका अवसरहरूको वितरण अत्यन्त मनासिव ढंगबाट वितरण होस् भन्ने कुरामा साह्रै होसियार हुनुहुन्थ्यो। आफ्नो नीजि सचिवालयमा कार्यरत कर्मचारीहरूले सभामुखको निकट रही काम गरेकै कारणले आफ्नो नाउँमा नाजायज फाइदा या सुविधा प्राप्त गर्नुहुँदैन भन्ने कठोर मान्यता राख्नुहुन्थ्यो । पुरस्कार, तालीम, अध्ययन तथा अन्य कुनै विदेश भ्रमणका कार्यक्रमहरूको वितरणमा उहाँ मलाई सदैव निष्पक्षतापूर्वक निर्णय गर्न सावधान गराउनुहुन्थ्यो । त्यसभन्दा पनि बढेर संसद् सचिवालयको दैनिक प्रशासन, अनुभव, योग्यता र काम अनुसारको क्षमताको निष्पक्ष मूल्याङ्कन गरी राइट म्यान इन राइन प्लेसको नीति अवलम्बन गर्न भन्नुहुन्थ्यो । तर कस्तै स्थितिमा पनि प्रशासनमा अनावश्यक हस्तक्षेप गर्नु हुन्नथ्यो ।
संविधान निर्माणको क्रममा सभाध्यक्षका हैसियतले कतिपय कुरा आफ्नो दल अनुकूल पारे होलान् भन्ने संशय अन्य दलका सांसदहरूमा परेको कुरा सुनिन्थ्यो । तर सत्य कुरा के थियो भने उहाँले मस्यौदाका क्रममा कहिल्यै, कुनै पनि किसिमको हस्तक्षेप अर्थात् आदेश दिने, निर्देशन दिने या प्रत्यक्ष या अप्रत्यक्ष किसिमले प्रभाव पार्ने कार्य गर्नुभएन । उहाँको आचरण, व्यवहार र दृष्टिकोणमा देखिने सन्तुलन न सचिवालय प्रशासन न त सभाको काम कारबाहीमा कहीँ कतै, कहिल्यै आफ्नो पदको प्रभाव पर्न दिनुभएन । उहाँ मनसा, वाचा, कर्मणा दैवी निष्पक्षता राख्नुहुन्थ्यो । आफ्नै दलका साथीहरू र दलप्रति सहानुभूति या झुकाव राख्ने आशाकुटी कर्मचारीहरूलाई समेत उहाँले पदमा रहँदासम्म निराश एवम् दुःखी नै बनाउनुभएको कुरा सचिवालयमा कार्यरत कर्मचारीहरूबाट सुनिने गथ्र्यो । त्यस हिसाबले उहाँको कार्यकाल सचिवालयको मुख्य प्रशासकको लागी रामराज्य काल (Golden Period) नै थियो भन्दा अत्युक्ति नहोला । त्यस्तो स्थिति न अगाडि थियो, न पछाडि रह्यो ।
स्वर्गीय नेम्बाङ्ग आफ्नैविरुद्ध विषवमन गर्ने, कर्ण कटुवचनलगायत अभद्र व्यवहार गालीगलौजलाई पनि सजिलै लिनसक्नु हुन्थ्यो । उहाँ त्यस परिस्थितिमा समेत रत्तिभर उत्तेजित नभईकन बृहत् शालीन ढंगले सम्हालिन सक्नुहुन्थ्यो । संवैधानिक कानून र कानूनका विषयमा उहाँको बौद्धिक प्रतिभा अद्वितीय थियो । ०३७ सालदेखि झण्डै ४ दशक लामो कार्यकालमा मैले उहाँ जस्तो क्षमतावान बौद्धिक एवम् सबैका प्रिय सभामुख अर्को कोही देखिनँ । । एक पटक मलाई एउटा प्रदेश सभाका सभामुखले आफूले सँगै काम गरेका, संसद्मा व्यहोरेका सभामुखहरूमध्ये सबैभन्दा राम्रो, क्षमतावान एवम् कुशल सभामुख को लाग्छ भनेर सोध्नुभएको थियो । मैले सबैभन्दा बढी स्व. सुवास नेम्बाङ्ग नै हुनुहुन्थ्यो भनिदिएँ । त्यसपछि अरूका बारेको मूल्याङ्कन गर्न पनि आग्रह गर्नुभयो । मैले बिना हिच्किचावट सबैका बारेमा बताइ दिएँ । मैले व्यहोरेका मध्ये कोही सदनमा विपक्षी दलका मात्र सभामुख थिए जो अत्यन्त षड्यन्त्रकारी , कुटिल र बहुमतकै अपमान गरी विपक्षीलाई मुठभेड र हिंसामा उतार्ने गर्थे भने कोही आफू जुन दलको सदस्य हो त्यही दलको मात्र हितमा काम गर्थे । कोही सभा सञ्चालनका सामान्य ज्ञान पनि नभएका, रिडिङ पेपरसमेत शुद्धसँग वाचन गर्न नसक्ने, सदनमा उत्पन्न हुने समस्या हल गर्न असमर्थ थिए । कोही भागबण्डामा सभामुखको ओहदामा पुगेका जस्ता देखिन्थे । कोही रिडिङ पेपरमा लेखिएको बाहेक सदनमा अनायास उत्पन्न हुने गतिरोध समाधान गर्न सांसदहरूसँग सवाल जवाफ गर्न बिलकुल असमर्थ थिए । त्यस्तो अवस्थामा के भन्नु पर्ने हो भन्ने सामान्य ज्ञानसमेत नभएका जस्ता देखिनुहुन्थ्यो । तर सुवास नेम्बाङ्ग जतिसुकै कठिन परिस्थिति भए पनि किञ्चित विचलित हुनुहुन्नथ्यो । यस कसीमा स्व. सुवास नेम्बाङ्ग सभामुखको हैसियतले निभाउनु पर्ने भूमिकामा अचूक, अद्वितीय “न भूतो न भविष्यते” सभामुख हुनुहुन्थ्यो । जसको यथोचित मूल्याङ्कन गर्न मसँग मेरो शब्द भण्डारमा आवश्यक शब्दहरू उपलब्ध छैनन् ।
“रात रहे अग्राख पलाए” भन्ने उखान जस्तै सकिइसकेको कार्य सार्वजनिक गर्न रोकिनु पर्ने देखिएन । तसर्थ, तय भएबमोजिम नै हामीले कार्यक्रम अगाडि बढायौँ । र, २०७२ साल असोज ३ गते अपराह्न ४ बजे संविधान सभा भवनमा सम्माननीय राष्ट्रपति श्री रामवरण यादवले खचाखच भरिएको हलमा एक भव्य कार्यक्रमका बीच नयाँ संविधान लोकार्पण गर्नुभयो
संविधान सभाबाट संविधान निर्माण गर्ने जनचाहना अधुरै रहेको थियो । राजनीतिक सहमति अनुसार संविधान सभा दोस्रोको निर्वाचन सम्पन्न भयो । स्व. नेम्बाङ्ग संविधान सभाको दोस्रो कार्यकालका लागि समेत सम्मानित सभाध्यक्षको पदमा निर्वाचित हुनुभयो । मेरो महासचिवको पदको अवधि सकिन २१ दिन जति बाँकी थियो। अध्यक्ष नेम्बाङ्ग रुघाखोकीबाट ग्रस्त भएर केही दिनदेखि निवासमै आराम गरी राख्नुभएको थियो । म आफ्नो पदावधि सकिने र सेवानिवृत्त हुनुपर्ने स्थिति भए पनि नियति अनुसार जे हुन्छ त्यो हुन्छ नै भन्ने सम्झेर अविचलित दिन बिताई रहेको थिएँ । र म्याद थपका लागि कसैलाई पनि जानकारी गराएको थिइनँ । त्यसैबीच अध्यक्ष नेम्बाङ्ग कार्यालय फर्किनु भएपछि साविकबमोजिम बिहानको पहिलो प्रहरमै उहाँको कार्यकक्षमा भेट्न गएँ । कसैले उहाँलाई मेरो कार्यकाल सकिँदैछ भनेर जानकारी गराइसकेको रहेछ । उहाँले मलाई सोध्नुभयो – दोस्रो पदावधि लिने होइन भनेर । मैले उहाँको सहयोगार्थ नबस्ने कुरै भएन नि हजुर भनेँ । उहाँले तुरुन्त अर्को कार्यकालको लागि सिफारिस गर्ने वचन दिँदै आवश्यक पत्रहरू तयार पार्न भन्नुभयो । मैले सिफारिसपत्र लिएर उहाँको अगाडि राखिदिएँ । सेकेण्ड नै नलिई उहाँले मिति २०७१ चैत ३ गतेदेखि लागू हुने गरी मलाई संविधान सभाको महासचिवको दोस्रो कार्यकालको लागि सिफारिसपत्रमा हस्ताक्षर गरिदिँदै आफै राष्ट्रपति समक्ष आफैंले राष्ट्रपतिकोमा लिएर जान भन्नुभयो । मैले त्यसै गरेँ । राष्ट्रपति रामवरण यादवले तुरुन्त पुनः संविधान सभाको महासचिव पदमा नियुक्त गर्नुभएको समाचार सार्वजनिक भयो ।
मेरो नियुक्तिलाई लिएर उहाँकै दलका अध्यक्षले गम्भीर असहमति जनाउनु भएछ । बडो निराश एवम् दुःखी अनुहार लिइरहनुभएका अध्यक्ष नेम्बाङ्गले मलाई बैठक कक्षमा बोलाइ मेरो पुनर्नियुक्तिका विषयलाई लिएर दलका अध्यक्षले दिनुभएको प्रतिक्रियाबारे गम्भीरताकासाथ विस्तारमा भन्नुभयो । मैले उहाँलाई कामकै हिसाबले पनि सभामुख दोहोरिँदा महासचिव पनि दोहोरिनु आवश्यक नै थियो । उहाँले जे गर्नुभएको छ, त्यो अत्यन्तै सही काम गर्नुभएको छ । बरु म संविधान निर्माणको काम सम्पन्न भएको दिन– एक शब्द उच्चारण गरेर, इशारा मात्र गर्नुभयो भने पनि मैले आफ्नो पदबाट राजीनामा दिने र रिक्त हुन आउने पदमा उहाँले चाहेको विश्वास पात्र कसैलाई नियुक्त गर्न मार्ग प्रशस्त गरिदिने वचन दिएँ । त्यसपछि त्यस सम्बन्धमा अन्य कुनै कुरा भएन ।
संविधान सभाको दोस्रो कार्यकाल शुरु भएको केही वर्षपछि ०७२ साल वैशाख १२ गते ठूलो भूकम्प गयो । ठूलो जनधनको क्षति भयो । हजारौं मानिसको ज्यान गयो । संविधान सभाकै बैठक प्रभावित भयो । अस्तव्यस्त परिस्थितिमा नै भए पनि संविधान निर्माणको काम पनि सम्पन्न गर्नु राष्ट्रिय आवश्यकता थियो । राजनीतिक दलहरूसमेत बहुत गम्भीर भएर संविधान निर्माणको काममा सरिक हुन थाले । उता मस्यौदाको काम लगभग सकियो र मस्यौदा अनुमोदनको कार्य प्रारम्भ गर्ने समय आयो । मस्यौदामा छलफल प्रारम्भ हुनु अगावै अनेक किसिमका विवादहरू सिर्जना गरेर प्रक्रिया अगाडि बढाउन वाधा पु-याइएको थियो । सबै तनाव र असहजताका बीच मस्यौदा अनुमोदन भई सबै राजनीतिक दलका नेता, सभा सदस्यहरूले विशेष कार्यक्रमका बीच संविधानको अनुमोदित प्रतिमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भयो । त्यस कार्यमा मधेशवादी दल र अन्य दलका केही असन्तुष्ट सांसदले मात्र प्रमाणीकरण कार्यमा हस्ताक्षर गर्नुभएन ।
यस अघि अनुमोदनको प्रक्रिया अगाडि बढिरहेकै समयमा संविधान सभा अध्यक्ष सुवास नेम्बाङ्ग आफ्नो सभाकै आसनमा रहेका बेला उहाँले मलाई केही भन्नुपर्ने भएकोले आफूतिर बोलाउँदै अब संविधानको मस्यौदा तयार भई निर्माण कार्य छिट्टै सम्पन्न हुने छ, त्यसकारण सम्माननीय राष्ट्रपतिबाट संविधान सार्वजनिक गर्ने कार्यक्रम मिलाउन शुरु गर्नु भन्नुभएको थियो । मैले सार्वजनिक गर्ने मिति, समय र स्थानका बारेमा आफ्नो राय सुझाएँ । मेरो प्रस्तावलाई उहाँले तत्काल स्वीकृत गर्नुभयो ।
संविधान प्रमाणीकरण लगायतका सम्पूर्ण कार्यहरू समाप्त भएकोले सम्माननीय राष्ट्रपति महोदयबाट घोषणा गर्ने कार्य मात्र बाँकी रहेकोले राष्ट्रपति महोदयलाई पहिले मौखिक जानकारी दिने उद्देश्यले भेटको समय तय गरेर सम्माननीय संविधान सभा अध्यक्ष सुवास नेम्बाङ्ग बिहान ९ बजे शीतलनिवास पुग्ने कार्यक्रम तय भयो । सभाध्यक्ष कै निर्देशानुसार मसमेत सहभागी भएँ । राष्ट्रपति महोदयलाई विषयवस्तुबारे जानकारी गराइनसक्दै संविधान निर्माणको प्रक्रिया अस्वभाविक रूपमा तीव्र पारिएको, अनावश्यक रूपमा हतार गरेको, सबैको भावना र चाहनाहरू समेट्न नसकेको, सभामा ठूलो आपत्ति र विरोध हुँदाहुँदै संविधान निर्माणको काम सकियो भनिएकोले त्यस परिस्थितिमा आफू उपस्थित भई संविधान घोषणा गर्न नसक्ने, प्रधानमन्त्रीले चित्त बुझ्ने गरी जानकारी नगराएसम्म कार्यक्रम अगाडि नबढाउनु भन्ने जिकिर राष्ट्रपतिज्यूको थियो । भेटघाट दौरानमा सम्माननीय राष्ट्रपतिज्यूका भाषा शैली र अभिव्यक्तिहरू अत्यन्त कर्णकटु र आक्रामक थियो । निक्कै अनौपचारिक र गाली गलौजपूर्ण भए पनि सभाध्यक्ष नेम्बाङ्गले अत्यन्त शालीन मुद्रामा, किञ्चित नचिढीइकन, आफ्नो बडी, फेसियल एक्सप्रेसनहरू नबिगारीकन उदारताका साथ त्यसलाई श्रवण गरिरहनुभयो । केही कुरा मैले भनेँ, अरू धेरै कुरा नभई हामी त्यहाँबाट बाहिरियौँ ।
सभाध्यक्ष सुवास नेम्बाङ्गलाई देख्ने बित्तिकै बाजले कुखुराका चल्लाहरूलाई झम्टिए जस्तै शैलीमा निक्कै आक्रोश र असहमतिका उत्तेजित अभिव्यक्तिहरू दिनुभयो । संविधान घोषणाको कार्यक्रम गर्न हतारो गरेको विषय त छँदै थियो । त्यसबाहेक अन्य कुराहरूमा पनि प्रधानमन्त्रीज्यूको विमति रहेझैँ देखिन्थ्यो
दृष्टिका सम्पादक शम्भु श्रेष्ठले (वि.सं. २०८० साल असोज २ गते मंगलबार) आफ्नो स्थायी स्तम्भमा स्व. सुवास नेम्बाङ्गको बारेमा लेखेका थिएः–
“मानिस सर्वगुण सम्पन्न हुँदैनन् । मानिसका आ–आफ्नै कमजोरी पनि हुन्छन् । नेम्बाङ्गको कमजोरी आफूलाई मन नपरेको कुरामा पनि चुप लागेर बस्नु थियो । मुटुभित्र जतिसुकै ठूलो ज्वालामुखी विस्फोट भए पनि उनले कहिल्यै पनि मुखबाट आगो ओकलेनन् । बरु सहमति र सहकार्य नै उनको मूल मन्त्र थियो । संविधानको मर्म पनि सहमति र सहकार्य नै हो भनी रहे ।
राष्ट्रपति महोदयको कुरा सुनेपछि हामीलाई पनि कतै काम बिग्रने हो कि भन्ने भय हुन थाल्यो । शीतलनिवासबाट बिआइसिसी फर्कंने क्रममा उहाँकै आग्रहमा सँगै गाडीमा फर्कियौं । शीतलनिवासबाट बाहिरिनासाथ मैले स्थितिको गम्भीरतालाई विचार गरेर सम्माननीय प्रधानमन्त्रीलाई उक्त कुराको जानकारी दिनुपर्ने कुरा सुझाएँ । उहाँले आफ्नो सुरक्षा अधिकारीलाई प्रधानमन्त्री निवास बालुवाटारतिर मोड्न भन्नुभयो । हामी सिधै प्रधानमन्त्री निवासको बैठक कक्ष प्रवेश गर्यौँ । प्रधानमन्त्री औपचारिक पोशाकमा बाहिर निस्कन लागेको स्थिति थियो । पछि थाहा भयो प्रधानमन्त्री सम्माननीय राष्ट्रपति महोदयलाई नै बिफ्रिङ गर्न शीतलनिवास जाँदै हुनुहुँदो रहेछ । सभाध्यक्ष सुवास नेम्बाङ्गलाई देख्ने बित्तिकै बाजले कुखुराका चल्लाहरूलाई झम्टिए जस्तै शैलीमा निक्कै आक्रोश र असहमतिका उत्तेजित अभिव्यक्तिहरू दिनुभयो । संविधान घोषणाको कार्यक्रम गर्न हतारो गरेको विषय त छँदै थियो । त्यसबाहेक अन्य कुराहरूमा पनि प्रधानमन्त्रीज्यूको विमति रहेझैँ देखिन्थ्यो । सभाध्यक्ष र म खास केही नभनी, कुनै आग्रह नगरी त्यहाँबाट बाहिरियौँ । बिआइसिसी फर्किएर हुन गइरहेको संविधान सभाको बैठकमा ०७२ साल असोज ३ गते अपराह्न ४ बजे विशेष कार्यक्रमका बीच संविधान सभा भवन, बानेश्वरमा नवनिर्मित संविधानको लोकार्पण गर्ने कार्य तय भए बमोजिम हुने व्यहोराको प्रस्ताव पारित गरियो ।
साँझ औपचारिक निमन्त्रणा लिएर पुनः राष्ट्रपति महोदयकहाँ जानुपर्ने कार्यक्रम तय भएकोमा बिहानको असहज वातावरण र दुवै शीर्षस्थ पदाधिकारीहरूको व्यवहार र अभिव्यक्तिबाट दुःखी भएका नेम्बाङ्ग आफू जान असमर्थ भएकोले मलाई निमन्त्रणा लिएर राष्ट्रपति महोदयसँग भेट्न अह्राउनुभयो । तोकिएको समयमा म निमन्त्रणा लिएर शीतलनिवास पुगेँ, केही बेरमा राष्ट्रपति महोदय आउनुभयो । बैठकमा राष्ट्रपतिका कानूनी सहयोगी श्री ललित बस्नेत र सचिव श्री टेकप्रसाद ढुंगाना (हाल श्री सर्वोच्च अदालतका माननीय न्यायाधीश) समेतको उपस्थितिमा मैले औपचारिक निमन्त्रणा सम्माननीय राष्ट्रपति महोदयलाई हस्तान्तरण गरेँ । राष्ट्रपति महोदयका असन्तुष्टि र असहमतिका स्वरहरू फेरि सुनिए । मैले जानेबुझेसम्म त्यस राष्ट्रिय महत्त्वको ऐतिहासिक घडीमा राष्ट्रपति महोदयको जिम्मेवारीका बारेमा नम्र स्वरमा निवेदन गरेँ । र नियतिले प्रदान गरेको उक्त अवसर नगुमाउन, आफ्नो इतिहास नबिगार्न र यो लामो समयदेखिको आमनेपालीको चाहना पूरा गरेर इतिहासमा आफ्नो योगदान सुरक्षित गर्न स्मरण गराएँ । यसो गर्नु बुद्धिमानी हुने र उहाँकै सर्वाङ्गिण हितमा हुने कुरा पनि राखेँ ।
अन्ततः सभाका झण्डै ९० प्रतिशत सदस्यहरूले हस्ताक्षर गरेको अनुमोदित संविधान सार्वजनिक गर्ने निर्धारित योजनाअनुसार नै सम्पन्न हुने भयो । केही आन्तरिक र धेरै बाह्य दबाबका कारण सम्माननीय राष्ट्रपति महोदय र सम्माननीय प्रधानमन्त्रीज्यूले केही ढिलो गरेर भए पनि सबैको चित्त बुझाएर मात्र अनुमोदन गर्न र सार्वजनिक रूपमा घोषणा गर्नुपर्ने भन्ने आग्रह सजिलै बुझ्न सकिन्थ्यो । “रात रहे अग्राख पलाए” भन्ने उखान जस्तै सकिइसकेको कार्य सार्वजनिक गर्न रोकिनु पर्ने देखिएन । तसर्थ, तय भएबमोजिम नै हामीले कार्यक्रम अगाडि बढायौँ । र, २०७२ साल असोज ३ गते अपराह्न ४ बजे संविधान सभा भवनमा सम्माननीय राष्ट्रपति श्री रामवरण यादवले खचाखच भरिएको हलमा एक भव्य कार्यक्रमका बीच नयाँ संविधान लोकार्पण गर्नुभयो । हर्ष, उत्साह र उमङ्गले ल्याएको जनलहरका बीच नेपालको नयाँ संविधान लागू भयो । झण्डै ७० वर्ष अगाडि देखि नेपाली जनताले चाहेबमोजिम निर्वाचित जन प्रतिनिधिहरूले निर्माण गरेको संविधान लागू गर्ने सपना पूरा भयो । उक्त अवसरमा संविधान सभाका अध्यक्ष सुवास नेम्बाङ्गले एक ऐतिहासिक भाषणका साथ संविधान सभाको विधिवत् विसर्जन गर्नुभएको थियो ।
साँझ औपचारिक निमन्त्रणा लिएर पुनः राष्ट्रपति महोदयकहाँ जानुपर्ने कार्यक्रम तय भएकोमा बिहानको असहज वातावरण र दुवै शीर्षस्थ पदाधिकारीहरूको व्यवहार र अभिव्यक्तिबाट दुःखी भएका नेम्बाङ्ग आफू जान असमर्थ भएकोले मलाई निमन्त्रणा लिएर राष्ट्रपति महोदयसँग भेट्न अह्राउनुभयो
संविधान सभाका अध्यक्ष सुवास नेम्बाङ्गसँग साथ रहेर संविधान सभाका माध्यमबाट जनताका निर्वाचित सदस्यहरूले जनचाहना अनुसार लेखेको त्यही ऐतिहासिक नेपालको संविधान (वि.सं. २०७२) को निर्माणकालमा साथै रही सक्दो योगदान गर्न पाएकोमा म तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला र संविधान सभाका अध्यक्ष स्व. सुवास नेम्बाङ्गप्रति हृदयदेखि धन्यवाद ज्ञापन गर्दै आभार व्यक्त गर्न चाहन्छु ।
सभाध्यक्ष स्व. नेम्बाङ्गको देहावसान हुनु करिब तीन हप्ता पहिले म एउटा कामको सिलसिलामा संसद् सचिवालय परिसर, सिंहदरबार गएको थिएँ । लामो समयदेखि हाम्रो भेट भएको थिएन । त्यसैले म उहाँको संसदीय दलमा रहेको संसदीय दलको उपनेताको कार्यालयमा भेट्न गएको थिएँ । बडो हँसिलो मुद्रामा खुसी हुँदै भित्री कोठामा लग्नु भयो । मैले उहाँलाई मलिन, बिरामी मुखाकृती, स्वास्थ्य स्थिति राम्रो नभएको देखेर सन्चो छैन कि क्या हो ? त्यति राम्रो देखिनु भएको छैन । के छ स्वास्थ्य स्थिति भनेर सोधेको थिएँ । त्यसक्रममा अलिक हेरचाह गर्न र स्वास्थ्य जाँच गर्न पनि सुझाएको थिएँ । उहाँले हैन ठिक छु, त्यस्तो केही भएको छैन भन्नुभयो । ३०–३५ मिनेट चिया पिउँदै राजनीतिलगायत विविध विषयमा भलाकुसारी गर्यौं । स्वास्थ्यलाई गम्भीरताका साथ लिनु भन्ने सुझाव दिएर म त्यहाँबाट बाहिरिएँ ।
त्यसदिन एकाबिहानै राष्ट्रिय समाचार समितिका पत्रकार साथी नारायणजीले मेरो मोबाइलमा फोन गरेर “थाहा पाउनु भयो ?” भनेर सोधे । के, कुन कुरा थाहा भएन भन्ने मेरो प्रतिप्रश्नमा सुवास नेम्बाङ्ग बित्नुभएको कुरा सुनाउनुभयो । म बिहानको सामान्य व्यायमकै क्रममा थिएँ । झट्पट उठेर मुख धोई तुरुन्त त्रिवि शिक्षण अस्पतालतिर लागेँ । उहाँको पार्थिव शरीर कफिनमा राखी पार्टी अफिसतिर लैजाने तयारी गरिएको थियो । उहाँप्रति त्यहीँ नै आफ्नो श्रद्धाञ्जली अर्पण गरेँ ।
पत्यार लाग्दैन, आज उहाँ हुनुहुन्न भनेर । उहाँसँगै रही काम गर्दाका अवसरमा व्यहोर्नु परेका चुनौतीपूर्ण क्षणहरूलाई पार लगाई त्यस ऐतिहासिक जिम्मेवारी पूरा गर्न पाउँदा खुसी लाग्दछ । तर उहाँको यस्तो असामयिक देहावसानबाट साथ र सामीप्यता गुमाउनु पर्दा भने धेरै नै दुःखी भएको छु ।
नेम्बाङ्ग आज हामीहरूबीच हुनुहुन्न । तर पनि उहाँबाट हामी सबैले, विशेष गरी राजनीतिक दलका नेताहरूले केही कुरा सिक्ने सके नेपाली राजनीतिले स्थिरता प्राप्त गर्न सक्दछ । मुलुकलाई दुर्घटनाबाट बचाउन झेल र षड्यन्त्रका तानाबाना र अनेकौं गठबन्धनका परीक्षणात्मक क्रियाकलाप गरेर मुलुकलाई अस्थिरतातर्फ धकेल्न हुँदैन ।
संविधान सभाका अध्यक्ष सुवास नेम्बाङ्गका बारेमा लेख्नु पर्दा म निरपेक्ष हुन सक्दिनँ । संविधान निर्माण गर्दाको समयावधि र त्यसपश्चातका निजी समयमा समेत उहाँसँग अत्यन्त निकट रहेँ । यो नितान्त्त निजी कारणले सम्भव भएको थियो । शुद्ध व्यक्तिगत , एकअर्काप्रतिको आकर्षण, विश्वास र सद्भावनाकै कारणले त्यसो हुन गएको थियो भन्ने सम्झेको छु । संविधान निर्माणको त्यो वृहत अनुभवका लामो समयावधि एक बृहत महायज्ञ नै थियो । मेरै मात्र असावधानी र हेलचेक्र्याइले सबै कुरा भताभुङ्घ हुन सक्दथ्यो । तर त्यो यज्ञको सञ्चालकमा स्व. सुवास नेम्बाङ्ग जस्तो कुशल नेताको हातमा स्टेरिङ नहुँदो हो त सम्पूर्ण अभियान पुनः दुर्घटनामा पर्न सक्दथ्यो । सबै कुरा यति धेरै विविध भाषा, धर्म जातजाति र भौगोलिक, सांस्कृतिक विविधता भएको समाजका सबै वर्ग र तप्कालाई चित्त बुझाउँदा बडो कुशल चालकले गाडी गन्तव्यमा पुर्याएझै संविधान निर्माणको महायज्ञलाई कुशलतापूर्वक सम्पन्न गर्न सक्नुमा स्व. नेम्बाङ्गको व्यक्तिगत योगदानको जति नै प्रशंसा गरे पनि कमै हुन्छ । आँखामा राख्दा पनि नबिझाउने नेता हुनुहुन्थ्यो नेम्बाङ्ग । उहाँको शालीनता , तार्किक एवं बौद्धिक अभिव्यक्तिका कारण नै उहाँ सबैका प्रिय सभामुख हुनुभएको थियो । उहाँको असामयिक निधनमा सारा देश रोएको थियो । एक किसिमको शून्यताको स्थिति देखिएको छ । वास्तवमा उहाँको निधनले समकालीन राजनीतिमा अपुरणीय क्षति पुगेको छ । उहाँजस्ता सभामुखको साथ संविधान सभाको महासचिवको त्यो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने कार्यमा सरिक हुन पाउनु मेरो अहोभाग्य नै हो भन्ने सम्झेको छु । त्यस्ता अद्वितिय “न भूतो न भविष्यति” जस्ता सभामुखलाई हृदय देखि नै श्रद्धाका दुई शब्द अर्पण गर्न चाहन्छु ।
(भट्टराई संविधान सभाका महासचिव हुन्)
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया