NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

प्रवासबाट टिकटकमा चुनावकेन्द्रित अन्तरक्रिया, माधवदेखि अनन्तसम्म अतिथि

काठमाडौं । फागुन २१ नजिकिँदै गर्दा मनोरञ्जनका लागि परिचित माइक्रो ब्लगिङ एप टिकटकमा दलका नेता, उम्मेदवारहरूलाई आमन्त्रण गरेर चुनावी विमर्श गराउन थालिएको छ ।

गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि समसामयिक राजनीतिक लगायत विषयमा छलफल, बहस चलाउँदै आइरहेको नेपाल पत्रकार महासंघ युरोप शाखाका उपमहासचिव अशिम लोप्चनसहितको टिमले फागुन २१ को निर्वाचनलाई लक्ष्य गर्दै टिकटक लाइभमार्फत अन्तरक्रिया सुरु गरेको हो ।

देशका विभिन्न क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवारहरू, पूर्वप्रधानमन्त्रीहरू तथा अन्य प्रतिष्ठित व्यक्तित्वहरूलाई आमन्त्रण गरी निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा अगाडिसम्म यसलाई निरन्तरता दिने तयारी लोप्चनसहितको टिमले गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल सहभागी भइसकेका छन् । गत बुधबार अतिथिका रूपमा टिकटक लाइभमा उपस्थित नेपाललाई सहभागीहरूले निर्वाचनकेन्द्रित तिखा प्रश्नहरू राखे । उक्त अवसरलाई भरपुर उपयोग गर्दै नेपालले पनि आफू र आफ्ना दलबारे उठेका प्रश्नहरूको जवाफ दिए । २ हजार बढीको सहभागिता रहेको लाइभमा उनले आफ्नो दललाई मत किन दिनुपर्छ भन्नेबारे पनि धारणा राख्न भ्याए ।

अक्सर मूलधारका सञ्चारमाध्यमहरूमा देखिने दलका अन्य नेताहरूलाई पनि टिकटकको मञ्च उपलब्ध गराएर अन्तरक्रिया गरिएको छ । यसक्रममा झापा क्षेत्र नं. ३ का उम्मेदवार डिल्लीराम घिमिरे, सुर्खेत–२ का उम्मेदवार झकबहादुर मल्ल, सल्यानका उम्मेदवार रमेशकुमार मल्ल, लमजुङका उम्मेदवार हरिजंग तामाङ, कालीकोटका उम्मेदवार महेन्द्रबहादुर शाही, उदयपुरका उम्मेदवार विनोद कटुवाल, चितवन–३ की उम्मेदवार रेनु दाहाल, नुवाकोट–२ का उम्मेदवार हीरानाथ खतिवडा, झापा–५ का उम्मेदवार रञ्जित तामाङदेखि रोल्पाका माओवादी उम्मेदवार वर्षमान पुनसम्मका नेता अतिथिका रूपमा अन्तरक्रियामा सहभागी भइसकेका छन् । आगामी दिनमा राजकाजी गुरुङ, पर्शुराम तामाङलगायत नेतालाई अन्तरक्रियामा आमन्त्रण गर्ने तय भइसकेको उक्त कार्यक्रमका को–होस्ट मनोजकुमार अधिकारीले जानकारी दिए ।

सामाजिक सञ्जालहरूमा चुनावकेन्द्रित बहस नभएर गालीगलौज, घृणा र उत्तेजना फैलिरहेकाले स्वस्थ बहसका लागि टिकटकको प्लेटफर्ममार्फत अन्तरक्रिया सुरु गरेको को–होस्ट अधिकारीले जानकारी दिए ।

‘निर्वाचन खासमा आफ्ना एजेण्डा, नीति तथा कार्यक्रम जनतासमक्ष राखेर अनुमोदित हुने लोकतान्त्रिक अनुष्ठान हो । तर अहिले जुन विषयमा बहस, छलफल हुनुपर्ने हो, त्यो बरालिएको, विश्रृंखलित भएको पाइन्छ,’ अधिकारीले भने, ‘त्यसैले निर्वाचनमा स्वस्थ, सार्थक र अर्थपूर्ण विमर्श होस् भन्ने हेतुले यो सानो प्रयास गरिएको हो ।’

टिकटक लाइभमार्फत गरिने अन्तरक्रिया हरेक दिन नेपाली समयअनुसार राति ९ बजे हुने गरेको छ । नेपाल पत्रकार महासंघ युरोप शाखाले विश्वभर छरिएका नेपाली समुदायलाई उक्त संवादमा जोडिएर सहयोग गर्न आग्रह गरेको छ ।

टिकटक अन्तरक्रियाको होस्ट स्पेनमा रहेका अशिम लोप्चन तामाङले गरिरहेका छन् भने अस्मी स्याङ्तान (संयुक्त अरब इमिरेट्स), मनोजकुमार अधिकारी (फान्स), सुरज किराँती, सञ्जाल किराँती (दक्षिण कोरिया), अञ्जन कुँवर (जापान), रमिला बुढाथोकी, समिता तामाङ (नेपाल) लगायत को–होस्ट रहेका छन् ।