मौसम सुधारसँगै पोखरा-जोमसोम हवाई सेवा पुनः सञ्चालन
काठमाडौँ । प्रतिकूल मौसमका कारण केही समयदेखि स्थगित भएको पोखरा-जोमसोम हवाई सेवा पुनः सञ्चालनमा आएको छ। जाडो याममा हुस्सु र हिमपात बढ्नुका साथै यात्रुको चाप पनि कम हुने भएकाले मङ्सिर १५ गतेदेखि तीन महिनाका लागि उडान रोकिएको थियो।
मौसम क्रमशः अनुकूल हुँदै जाँदा र पर्यटकको गतिविधि बढ्न थालेपछि हवाई सेवा पुनः सञ्चालन गरिएको सम्बन्धित निकायले जनाएको छ।
शनिबार समिट एयरलाइन्सको ट्विनअटर विमानले काठमाडौँबाट दुई उडान र पोखराबाट एक उडान गरेको जोमसोम विमानस्थलले जानकारी दिएको छ। उक्त उडानमार्फत काठमाडौँबाट २९ जना पर्यटक मुस्ताङ पुगेका थिए, जसमा २८ जना विदेशी र एक जना नेपाली रहेको बताइएको छ।
त्यसैगरी पोखराबाट भएको उडानमा १५ जना पर्यटक सवार थिए, जसमा छ जना भारतीय नागरिक रहेका थिए।
एयरलाइन्सका अनुसार पर्यटक आगमन बढ्न थालेकाले हवाई मार्ग प्रयोग गर्ने यात्रुको सङ्ख्या पनि वृद्धि भइरहेको छ। मौसम अनुकूल रहेसम्म पोखरा–जोमसोम उडान नियमित रूपमा सञ्चालन हुने जानकारी दिइएको छ।
हवाई सेवा अवरुद्ध भएका अवधिमा भने पर्यटक तथा यात्रुहरू बेनी-जोमसोम सडक मार्ग प्रयोग गरी मुस्ताङ जाने गरेका थिए। मुस्ताङ क्षेत्रमा निजी क्षेत्रका वायुसेवा कम्पनी तारा एयर र समिट एयरलाइन्सले नियमित उडान सञ्चालन गर्दै आएका छन्।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया