एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै
दमौली (तनहुँ) । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम भइरहेको छ ।
व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७७ प्रतिशत प्रगति भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ । उक्त खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जानकारी दिए । हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको उनले बताए ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम सुरु गरिएकोमा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको छ ।
पाण्डेका अनुसार पुल निर्माणका लागि विसं २०७९ साउन २६ गते अन्नक जेडआइस्टी जेभीसँग सम्झौता भएको थियो । पाण्डेले भने, “पुल निर्माणको म्याद सकिएपछि पुन: म्याद थपिएको छ । थप भएको म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ ।” चालु आर्थिक वर्षभित्रै पुल निर्माण सकिने लक्ष्य राखिएको पाण्डेको भनाइ छ ।
तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान रहनेछ । पुलको वारिपारी दुई/दुई ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेको छ । उनका अनुसार फाउण्डेशनदेखि सुपर स्ट्रक्चरको काम सकिएको छ । उनले भने, “मिडल स्पान दुई वटा कङ्क्रिट नेचर आर्क ब्रिज हो । त्यसको काम भइरहेको छ ।” रु एक अर्ब २१ करोड भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाइ छ ।
निर्माण कम्पनी अन्नक जेडआइष्टी जेभीका साइट म्यानेजर दिनेशकुमार श्रेष्ठले निर्धारित मितिअगावै पुल निर्माण सकिने जानकारी दिए । उनका अनुसार असार १९ गतेसम्म म्याद रहेपनि सोभन्दाअगावै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुल निर्माणका लागि हाल दैनिक १५० कामदार खटाइएको छ ।
उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुल भन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया