NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

आकर्षक पर्यटकीयस्थल बन्दै रत्नेचौरको बुढो पोखरी

म्याग्दी। बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौरको बूढो पोखरीतर्फ पर्यटकको आकर्षण बढ्दै गएको छ ।

विसं १८६६ मा निर्माण भएको यो पोखरीको पुनः निर्माण तथा सरसफाइ गरेर चिटिक्क बनाएपछि रत्नेचौर आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो ।

कृषि, धार्मिक र पर्यापर्यटनको त्रिधाम भनेर चिनिने रत्नेचौरमा बेनी–बागलुङ सडक खण्डको पश्चिम उत्तर खण्डमा अवस्थित बूढो पोखरी धौलागिरि क्षेत्रकै ठुलो मानवनिर्मित पोखरी हो । यस पोखरीमा संसारकै सातौँ अग्लो (आठ हजार, १६७ मिटर) धौलागिरि हिमालको प्रतिविम्ब देखिनुका साथै जलहाँसको सुन्दर क्रिडा देख्न सकिन्छ ।

स्थानीय भानु माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एवं रत्नेचौरको विकास र प्रचारप्रसारमा लागि परेका युवा भरत खत्रीका अनुसार ऐतिहासिक बूढो पोखरीले रत्नेचौरको सौन्दर्यलाई उजागर गर्नुका साथै पर्यटकको ध्यान खिच्न सफल भएको छ ।

“रत्नेचौर प्राकृतिक सुन्दरताले युक्त कृषि गाउँ हो । उत्तरतर्फ चाँदी झैँ टल्किने हिमाल, समथर फाँटमा झुलिरहने बाली, चिटिक्कको गाउँ, खेतको फाँटको बिचमा लमतन्न परेको पक्की सडक, पारीपट्टी देखिने शालग्राम सङ्ग्रहालय र पञ्चकोट धाम, कालीगण्डकी नदी, म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका दर्जनौँ गाउँको दृश्यावलोकन यहाँबाट गर्न सकिने भएकाले पछिल्लो समय पर्यटकहरूको आकर्षण बढेको छ”, उनले भने ।

पश्चिमदेखि पूर्वतर्फ मोहोडा गरेर लमतन्न फैलिएको विशाल र सुन्दर फाँटमा अवस्थित रत्नेचौरमा पछिल्लो समय राजनीतिक दलका नेता, चलचित्र छायाङ्कनका लागि आउने गरेका विक्रम बोगटीले बताए । “तोरीबारी र सडकका कारण देश विदेशमा भाइरल बनेको रत्नेचौर गाउँमा पछिल्लो समय बूढोपोखरी र दुई जिल्ला जोड्ने (म्याग्दी–बागलुङ) झोलुङ्गे पुल थपिएपछि गाउँको आकर्षण नै बढेको छ”, उनले भने । बूढोपोखरीमा जलहाँस पौडिरहेको दृश्य अत्यन्त आकर्षक देखिन्छ ।

विसं १८६६ मा राजा गीर्वाणयुद्धका मिरसुब्बा रहेका रत्नेचौरका वसन्त बोगटीले राजाको इच्छा मुताबिक यो पोखरी निर्माण गर्न लगाएको इतिहास छ । तत्कालीन समयमा रत्नेचौरमा पानीको हाहाकार भएपछि मानव बस्ती नै विस्थापित हुने अवस्था आएकाले ढोडेनीबाट पानी ल्याइ यो पोखरी निर्माण गरिएको बताइन्छ ।

पोखरी निर्माण गरेपछि रत्नेचौरमा खेतीपाती गर्न थालिएको थियो । पोखरी आसपास क्षेत्रमा बगैँचा विस्तार गर्न सात रोपनी जग्गा छ । अहिले सोही जग्गामा बगैँचालगायतका केही पूर्वाधार निर्माण गरिएका छन् । यो पोखरीमा धवलागिरि हिमालको पूर्ण प्रतिविम्ब देखिने गर्छ ।