ग्लोबल आईएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबीच सहकार्य, मोतिबिन्दुको निःशुल्क शल्यक्रिया हुने
काठमाडौँ । आर्थिक रूपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न समुदायका नागरिकहरूको आँखासम्बन्धी उपचारलाई सहज बनाउने उद्देश्यसहित वित्तीय संस्था र स्वास्थ्य क्षेत्रबीच सहकार्य सुरु भएको छ। यस अन्तर्गत मोतिबिन्दु पहिचान तथा निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन गर्न दुई संस्थाबीच समझदारी भएको हो।
ग्लोबल आईएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठान बीच मंगलबार कर्पोरेट कार्यालय कमलादीमा सम्झौता आदानप्रदान गरिएको हो। कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइत को उपस्थिति रहेको थियो।
सम्झौताअनुसार बैंकको आर्थिक सहयोगमा प्रतिष्ठानले सातै प्रदेशका विभिन्न स्थानमा लक्षित समूहका नागरिकहरूको मोतिबिन्दु परीक्षण गर्ने र पहिचान भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइनेछ। साथै, विद्यालय तहमा अध्ययनरत आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको आँखाको जाँच गरी आवश्यक परेमा निःशुल्क चस्मा उपलब्ध गराइने कार्यक्रम पनि सञ्चालन गरिनेछ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी ले सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ ले सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउने उद्देश्य रहेको उल्लेख गरिन्।
यस सहकार्यबाट दुर्गम तथा पहुँच कम भएका क्षेत्रका नागरिकलाई आधारभूत आँखा स्वास्थ्य सेवा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया