८ महिनामै भित्रियो साढे १४ खर्ब रेमिट्यान्स
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो आठ महिनामै नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाहले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा कुल १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह ९.५ प्रतिशतले मात्र बढेको थियो। यस वर्षको फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जबकि अघिल्लो वर्षको सोही महिनामा यो रकम १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ रहेको थियो।
उल्लेखनीय रूपमा, अघिल्लो आर्थिक वर्षभरि करिब साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा चालु वर्षमा आठ महिनामै सो स्तर पार भएको छ।
अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा यस्तो वृद्धि ७.१ प्रतिशत मात्रै थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ११ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।
वैदेशिक रोजगारीतर्फ भने केही गिरावट देखिएको छ। यस अवधिमा अन्तिम श्रम स्वीकृति लिने नयाँ नेपालीको संख्या २ लाख ७३ हजार ५३६ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ जनाले श्रम स्वीकृति लिएका थिए।
रेमिट्यान्स आप्रवाहमा भएको तीव्र वृद्धिले देशको विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको मानिएको छ।


प्रतिक्रिया