खैरहनीका किसानलाई धानको बीउमा ५० प्रतिशत अनुदान
चितवन । खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत खाद्यान्न बाली प्रवर्द्धनका लागि किसानलाई धानको बीउमा अनुदान दिन लागेको हो ।
नगरपालिकाकी कृषि अधिकृत सृजना श्रेष्ठले अनुदान प्राप्त गर्न इच्छुक किसान तथा कृषि उद्यमीलाई आगामी वैशाख ७ गतेभित्र निवेदन दिन आह्वान गरिएको जानकारी दिइन् । उनका अनुसार, मोटो र मसिनो गरी विभिन्न सात जातका धानको बीउमा अनुदान दिन लागिएको हो ।
संघीय सरकारको बजेटमार्फत किसानलाई अनुदान दिन लागिएको हो । अनुदानमा उपलब्ध हुने धानका जातहरूमा सुक्खा धान–२, सावित्री, हर्दिनाथ–५, हर्दिनाथ–६, सावा मन्सुली सब–१, रामधान र चैते–५ रहेका छन् ।
नगरपालिकाले प्रतिकठ्ठा दुई किलोका दरले एकजना किसानलाई अधिकतम १०० किलोसम्म बीउ उपलब्ध गराउने नीति लिएको छ । अनुदान लिन चाहने किसानले नागरिकताको प्रतिलिपि र चालु आव २०८२/८३ को एकीकृत सम्पत्ति कर तिरेको रसिदसहित स्वयं कृषि शाखामा उपस्थित भई निवेदन दिनुपर्नेछ ।
जग्गा भाडामा लिएर खेती गर्ने किसानका हकमा जग्गाबहाल सम्झौता, बहाल कर तिरेको रसिद र जग्गाधनीको नागरिकताको प्रतिलिपि अनिवार्य गरिएको कृषि शाखाले जनाएको छ ।
यसअघि नगरपालिकाले चैते धानको बीउमा पनि ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो । यस पालिकामा चैते धान दुई हजार ५१ हेक्टर क्षेत्रफलमा लगाइन्छ भने बर्खे धान तीन हजार ५५८ हेक्टर क्षेत्रफलमा लगाइन्छ ।
धानको बीउमा अनुदानका लागि १० लाख ७५ हजार बजेट रहेको उनले जानकारी दिइन् । पालिकाले कृषि चुन र मललगायत सामग्रीमा समेत किसानलाई अनुदान दिँदै आएको छ ।
कृषिमा आत्मनिर्भर बनाउन र उन्नत बीउको प्रयोगमार्फत उत्पादकत्व वृद्धि गर्न यस्ता कार्यक्रम ल्याइएको अधिकृत श्रेष्ठले बताइन् । रासस
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया