एक वर्षमा सवा लाखले बढ्यो सुनको मूल्य
काठमाडौं। एक वर्षको अवधिमा नेपाली बजारमा सुनको मूल्य तोलामा सवा लाख रुपियाँले बढेको छ ।
२०८२ वैशाख १ मा प्रतितोला एक लाख ८४ हजार तीन सय रुपियाँमा कारोबार भएको सुनको मूल्य तोलामा एक लाख १५ हजार पाँच सय रुपियाँले बढेर मङ्गलबार दुई लाख ९९ हजार आठ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।
सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले भूराजनीतिक कारणले एक वर्षमा सुनको मूल्य दोब्बरले वृद्धि भएको बताए। पश्चिम एसियाली तनावका कारण सुनको मूल्य थप बढ्ने देखिएको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएकाले बजारमा माग नहुँदा कारोबार बढ्न नसकेको उनको भनाइ छ ।
यसअघि २०८२ माघमा प्रतितोला तीन लाख ३९ हजार रुपियाँ पुगेको सुनको मूल्य घटेर दुई लाख ७५ हजार रुपियाँमा झरेको थियो । चाँदीको मूल्य बढेर सात हजार पुगेको थियो । बिचमा घटेर तोलामा चार हजार रुपियाँसम्म झरेको थियो ।
यस्तै चाँदीको मूल्य एक वर्षमा तोलामा तीन हजार १२० रुपियाँले बढेको छ । महासङ्घका अनुसार २०८२ वैशाख एक हजार ९४५ रहेको चाँदीको मूल्य बढेर मङ्गलबार पाँच हजार ६५ रुपियाँमा कारोबार भएको छ ।
नयाँ वर्षको पहिलो दिन मङ्गलबार सुनको मूल्य तोलामा तीन हजार एक सय रुपियाँ बढेको छ । सोमबार तोलामा दुई लाख ९६ हजार सात सय रुपियाँमा कारोबार भएको थियो ।
मङ्गलबार चाँदीको मूल्य तोलामा १६५ रुपियाँले बढेको छ । अघिल्लो दिन प्रतितोला चार हजार नौ सय रुपियाँमा कारोबार भएको थियो । पछिल्लो समय निरन्तर सुनको मूल्य बढ्दै गएपछि सुनचाँदीको कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ । चैतमा ठप्प भएको सुनचाँदीको कारोबार नयाँ वर्षसँगै बढ्ने व्यवसायीले अपेक्षा गरेका छन् । मूल्य बढेपछि बजारमा माग न्यून भई कारोबार बढ्न नसक्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको व्यवसायीको भनाइ छ ।
भूराजनीतिक तनाव, केन्द्रीय बैङ्कहरूले सुनको भण्डारण बढाउनु, अमेरिकाको केन्द्रीय बैङ्कले ब्याजदर घटाउनु, सेयर बजारमा गिरावट आउनुलगायतका कारणले सुनको मूल्य बढ्दै गएको हो । पछिल्लो समय पश्चिम एसियाली मुलुकमा देखिएको युद्धका कारणले केही समय सामान्य घटेको सुनको मूल्य फेरी बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैङ्कले दैनिक २५ केजीका दरले सुन ल्याउने कोटा निर्धारण गरे पनि बजारमा माग नहुँदा पछिल्लो दुई महिनादेखि वाणिज्य बैङ्कले सुन ल्याउन छाडेका छन् ।-गोरखापत्र
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया