निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढे आर्थिक लक्ष्य हासिल गर्न सहज: अध्यक्ष ढकाल
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीमैत्री वातावरण निर्माण गरेमा मुलुकको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुने बताएका छन्।
महासङ्घको ६०औँ साधारणसभाका अवसरमा आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी बिदा हुने क्रममा उनले राज्य र निजी क्षेत्रबीचको अर्थपूर्ण सहकार्य नै राष्ट्रिय समृद्धिको मुख्य आधार भएको उल्लेख गरे। कोभिड महामारी, रुस–युक्रेन युद्धको प्रभाव र आन्तरिक राजनीतिक अस्थिरता जस्ता चुनौतीपूर्ण समयमा पनि महासङ्घले अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।
ढकालको कार्यकालमा नीतिगत र कानुनी अड्चन फुकाउने दिशामा उल्लेख्य उपलब्धि हासिल भएको दाबी गरिएको छ। उनकै पहलमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भएको र सो आयोगले लगानीका बाधक मानिएका ३० भन्दा बढी कानुनमा सुधारको सिफारिस गरेको छ।
यस्तै, निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावलाई रोक्न सफल हुनु र लगानी सम्मेलनअघि विभिन्न ऐन संशोधन हुनुलाई उनले आफ्नो कार्यकालका स्मरणीय सफलताका रूपमा लिएका छन्।
नेपालमा अवसर छैन भन्ने नकारात्मक भाष्यलाई चिर्न ढकालकै नेतृत्वमा १० अर्ब रुपैयाँ पुँजी भएको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ कम्पनी स्थापना गरिएको छ।
यस कम्पनीले छरिएर रहेको सानो पुँजीलाई एकीकृत गरी पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको छ। यसका साथै, स्टार्टअप नीति ल्याउन र महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न महासङ्घभित्र छुट्टै एकाइहरू स्थापना गरी काम अगाडि बढाइएको जानकारी उनले दिए।
महासङ्घको आन्तरिक सुधारका सन्दर्भमा ढकालले वर्षौँदेखि थाती रहेको विधान संशोधनलाई सर्वसम्मतिले टुङ्गोमा पुर्याउनुलाई ठूलो उपलब्धि मानेका छन्।
अबको नयाँ व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटेर अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुनेछ। यसले नेतृत्वलाई सदस्यहरूप्रति थप जिम्मेवार बनाउने र जिल्ला–नगरको प्रतिनिधित्वलाई अझ बलियो बनाउने विश्वास उनले व्यक्त गरे।
बिदा हुँदै गर्दा ढकालले आगामी दिनमा पनि आफ्नो अनुभवलाई उद्यमशीलता र रोजगारी सिर्जनामा लगाउने प्रतिबद्धता जनाएका छन्।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया