NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ५ गते

राष्ट्रिय आर्थिक गणना ८७ प्रतिशत सम्पन्न, आठ लाखभन्दा बढी फारम वितरण

काठमाडौँ – राष्ट्रिय तथ्याङ्क कार्यालय ले सञ्चालन गरिरहेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ को हालसम्म ८७ दशमलव ०८ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । थापाथलीस्थित कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत गणनाको प्रगति विवरण सार्वजनिक गरिएको हो ।

कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछाने का अनुसार वैशाख २ गतेदेखि सुरु भएको आर्थिक गणना आगामी असार ७ गतेसम्म सञ्चालन हुनेछ । हालसम्म देशभरका गणकमार्फत आठ लाखभन्दा बढी कागजी फारम तथा १० हजारभन्दा बढी ‘इसेन्सस टोकन’ वितरण भइसकेको उनले जानकारी दिए ।

कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा कमलप्रसाद पोख्रेल ले आर्थिक गणनाले मुलुकको व्यवसाय, प्रतिष्ठान, रोजगारी र आर्थिक गतिविधिको वास्तविक अवस्था पहिचान गर्न महत्वपूर्ण आधार तयार गर्ने बताएका छन् । उनका अनुसार प्राप्त तथ्याङ्कले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) लगायत राष्ट्रिय लेखा प्रणालीलाई समयानुकूल अद्यावधिक गर्न सहयोग पुग्नेछ ।

गणनाबाट व्यवसायको संरचना, प्रतिष्ठानको संख्या, रोजगारी अवस्था तथा आर्थिक गतिविधिको विस्तृत विवरण प्राप्त हुने कार्यालयको भनाइ छ । साथै संघीय, प्रदेश र स्थानीय तहलाई आर्थिक नीति, योजना तथा विकास कार्यक्रम निर्माण र मूल्यांकन गर्न समेत यो गणना उपयोगी हुने जनाइएको छ ।

कार्यालयले सबै प्रतिष्ठान तथा व्यवसायीलाई सही विवरण उपलब्ध गराएर सहयोग गर्न आग्रह गरेको छ । साथै सञ्चारमाध्यम, विशेषगरी रेडियो क्षेत्रलाई गणनाबारे जनचेतना फैलाउन सहजीकरण गरिदिन अनुरोध गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष