भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
काठमाडौं – भारतमा घरेलु प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रुपैयाँले वृद्धि गरिएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार नयाँ मूल्य आइतबारदेखि लागू भएको छ।
भारतमा भएको यस मूल्यवृद्धिले नेपालमा पनि एलपी ग्यासको मूल्य समायोजनको दबाब बढ्ने संकेत देखिएको छ, किनभने नेपालले उपभोग गर्ने सम्पूर्ण एलपी ग्यास भारतबाट आयात गर्दै आएको छ।
नयाँ मूल्यअनुसार भारतको राजधानी नयाँदिल्लीमा १४.२ किलोग्राम क्षमताको घरेलु एलपी ग्यास सिलिन्डरको मूल्य ९१३ भारतीय रुपैयाँबाट बढेर ९४२ भारतीय रुपैयाँ पुगेको छ। यसअघि गत मार्च ७ मा पनि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आएको उतारचढाव तथा आपूर्ति शृंखलामा परेको प्रभावका कारण प्रति सिलिन्डर ५० भारतीय रुपैयाँले मूल्य वृद्धि गरिएको थियो।
नेपालमा एलपी ग्यासको मूल्य भने नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा मासिक रूपमा समायोजन गर्दै आएको छ। भारतमा भएको मूल्य परिवर्तनले आगामी मूल्यसूचीमा नेपालले आयात गर्ने ग्यासको लागत बढ्न सक्ने भएकाले नेपाली बजारमा पनि मूल्य समायोजन हुने सम्भावना बढेको छ।
यद्यपि नेपालमा मूल्य बढ्ने वा नबढ्ने विषय भने आईओसीले पठाउने नयाँ मूल्यसूची, ढुवानी लागत, विनिमय दर तथा निगमको समग्र नाफा–नोक्सानको अवस्थामाथि निर्भर रहनेछ। ऊर्जा विज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य उच्च रहिरहेमा नेपाल आयल निगममाथि वित्तीय भार बढ्न सक्छ। निगमले उक्त भार व्यवस्थापन गर्न नसकेमा उपभोक्ताले पनि मूल्यवृद्धिको असर भोग्नुपर्ने अवस्था आउन सक्छ।
यसैबीच भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले सरकारले घरेलु एलपी ग्यासको पर्याप्त आपूर्ति सुनिश्चित गर्न आन्तरिक उत्पादन वृद्धि तथा आवश्यकताअनुसार आयात विस्तारलगायतका उपाय अवलम्बन गरिरहेको बताएकी छन्।
उनका अनुसार घरेलु एलपी ग्यास सिलिन्डरमा सरकारले उपलब्ध गराउँदै आएको अनुदानका कारण अझै पनि प्रति सिलिन्डर करिब ७०० भारतीय रुपैयाँ बराबरको ‘अन्डर रिकभरी’ कायम छ। पछिल्लो समय व्यावसायिक तथा औद्योगिक क्षेत्रमा ग्यासको खपत घट्नु, बुकिङ चक्रमा सुधार आउनु तथा ‘डेलिभरी अथेन्टिकेसन कोड (डीएसी)’ प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुनुले माग व्यवस्थापनमा सहयोग पुगेको उनले बताइन्।
नेपालमा खाना पकाउने प्रमुख इन्धनका रूपमा एलपी ग्यास प्रयोग हुने भएकाले भारतमा हुने मूल्य परिवर्तनले नेपाली उपभोक्ता र बजारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। त्यसैले भारतीय आयल कर्पोरेशनबाट आउने आगामी मूल्यसूचीलाई नेपाल आयल निगम र उपभोक्ता दुवैले चासोका साथ हेरिरहेका छन्।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया