NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३० गते

६ लाख ८७ हजारले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीस्वरूप सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत हालसम्म ६ लाख ८७ हजार ९३१ सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको जनाएको छ।

पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा शनिबार बसेको समितिको बैठकले अभियानको प्रगति समीक्षा गर्दै विभिन्न निर्णय गरेको हो।

समितिका अनुसार डिजिटल प्रणालीमा रहेका कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ५ लाख ३८ हजार ६२२ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन् भने १ लाख ४९ हजार ३०९ जनाको स्वयं अद्यावधिक फाराम वडा तहबाट अनुमोदनको प्रक्रियामा रहेको छ। यस्ता फाराम असार ५ गतेभित्र अनुमोदन गर्न वडा तहलाई निर्देशन दिइएको छ।

बैठकले उच्च हिमाली तथा विकट क्षेत्रका केही जिल्ला र बारा तथा खोटाङका लागि सदस्यता अद्यावधिकको समय असार ७ गतेसम्म तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका लागि असार १० गतेसम्म कायम गर्ने निर्णय गरेको छ। नयाँ क्रियाशील सदस्यता वितरण तथा फाराम प्रविष्टिको अवधि भने असार २० गतेसम्म रहनेछ।

ताजा अपडेट

नेपालवाच विशेष