NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १४ गते

अमेरिकालाई इरानको जवाफ, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डा निशानामा

इरान – इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेकाे छ । बीबीसी फारसी सेवाका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले आइतबार बिहान कुवेतस्थित अली अल–सलेम एयरबेस र बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडाको मुख्यालयसँग सम्बन्धित आठ स्थानलाई निशाना बनाएर आक्रमण गरेको हाे ।

आईआरजीसीका अनुसार संयुक्त सैन्य अभियानअन्तर्गत ती आक्रमण गरिएको हो । यस क्रममा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रयोग गरिएको जनाएको छ ।

आईआरजीसीले उक्त आक्रमण हालै इरानमाथि अमेरिकाले गरेको सैन्य कारबाहीको जवाफस्वरूप गरिएको दाबी गरेको छ । यद्यपि, अमेरिकी अधिकारीहरूले हालसम्म यसबाट भएको कुनै क्षति वा मानवीय हताहतीबारे प्रतिक्रिया दिएका छैनन् ।

आईआरजीसीले यसअघि अमेरिकी सेनाले आफ्नो नौसैनिक बल र एउटा जहाजसँग भएको आमनेसामनेको घटनालाई बहाना बनाएर इरानका पाँचवटा तटीय चौकीमा आक्रमण गरेको आरोपसमेत लगाएको छ ।

विज्ञप्तिमा इस्लामाबाद सम्झौताअनुसार होर्मुज जलडमरू हुँदै हुने जहाजहरूको आवतजावत नियमन गर्ने जिम्मेवारी इरानको रहेको उल्लेख गर्दै अबदेखि आफूले उल्लंघनकर्ता ठहर गरेका जहाजविरुद्ध अझ कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

आईआरजीसीले युद्धविराम उल्लंघन भए इस्लामाबाद सम्झौता कार्यान्वयनका आगामी प्रक्रिया प्रभावित हुन सक्ने चेतावनी पनि दिएको छ । यसअघि बीबीसी फारसी सेवाले कुवेती सेनाले मिसाइल र ड्रोन आक्रमण भएको पुष्टि गरेको जनाएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष