वर्षभरि एउटै समय लागू गर्ने अमेरिकी विधेयक संसदबाट अनुमोदित
वासिङ्टन । अमेरिकी संसदले डेलाइट सेभिङ टाइमलाई स्थायी बनाउने तथा वर्षमा दुई पटक घडी परिवर्तन गर्ने दशकौँ पुरानो अभ्यास अन्त्य गर्ने विधेयक बहुमतका साथ पारित गरेको छ।
प्रतिनिधि सभामा ३०८–११७ मतले पारित भएको विधेयक अब सिनेटमा जानेछ। कानुन बनेमा नोभेम्बरमा घडीलाई पुनः स्ट्यान्डर्ड टाइममा फर्काउने व्यवस्था अन्त्य हुनेछ। यद्यपि, हाल डेलाइट सेभिङ टाइम लागू नगरेका वा यसअघि नै स्थायी स्ट्यान्डर्ड टाइम रोजेका राज्यहरूले भने यसबाट बाहिर रहने विकल्प पाउनेछन्।
विधेयकका समर्थकहरूले वर्षमा दुई पटक घडी परिवर्तन गर्दा मानिसहरूको निद्रामा असर पर्ने, कार्यस्थलमा दुर्घटना बढ्ने र सडक दुर्घटनाको जोखिम उच्च हुने तर्क गरेका छन् । उनीहरूका अनुसार वर्षभरि घडी एक घण्टा अगाडि राख्दा साँझको उज्यालो समय बढ्ने र विशेषगरी जाडोयाममा आर्थिक गतिविधिलाई टेवा पुग्नेछ ।
तर विरोधीहरूले जाडोमा सूर्य ढिलो उदाउने भएकाले विद्यालय जाने बालबालिका, कार्यालय जाने कर्मचारी, किसान र निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरू अँध्यारोमै यात्रा गर्नुपर्ने अवस्था आउने बताएका छन्। केही स्थानमा जाडोको समयमा बिहान ९ बजेसम्म पनि सूर्य नउदाउने उनीहरूको भनाइ छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि वर्षमा दुई पटक घडी परिवर्तन गर्ने व्यवस्था अन्त्य गर्नुपर्ने पक्षमा आवाज उठाउँदै आएका छन्। ह्वाइट हाउसले पनि यसले समय, झन्झट र खर्च बचत हुने तथा अमेरिकीहरूले वार्षिक रूपमा सयौँ मिलियन डलर बराबरको आर्थिक लाभ प्राप्त गर्ने जनाएको छ।
यद्यपि, अर्कान्सासका रिपब्लिकन सिनेटर टम कटनसहित केही सिनेटरहरूले विधेयकको विरोध गरेका छन्। उनीहरूका अनुसार स्थायी डेलाइट सेभिङ टाइमले जाडोमा बिहान धेरै ढिलो उज्यालो हुने भएकाले बालबालिकालाई अँध्यारोमै विद्यालय जान बाध्य बनाउनेछ।
यसैबीच, प्रमुख अमेरिकी हवाई सेवा कम्पनीहरूको संस्था एयरलाइन्स फर अमेरिकाले पनि विधेयकले उड्डयन क्षेत्रमा यात्रु व्यवस्थापन, चालकदल र विमान सञ्चालन तथा अन्तर्राष्ट्रिय उडान तालिकामा उल्लेखनीय प्रभाव पार्न सक्ने भन्दै पर्याप्त तयारी अवधि आवश्यक पर्ने जनाएको छ।
यसअघि सन् २०२२ मा अमेरिकी सिनेटले डेलाइट सेभिङ टाइम स्थायी बनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरे पनि प्रतिनिधिसभाले त्यसलाई अघि बढाएको थिएन। हाल हवाई र एरिजोना राज्यमा डेलाइट सेभिङ टाइम लागू छैन।
ताजा अपडेट
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि कृषि मन्त्री चौधरीको पहल, कालीमाटीबाट उपत्यका बाहिर ढुवानी सुरु
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि कृषि मन्त्री गिता चौधरीको पहल : कालीमाटीबाट उपत्यका बाहिर ढुवानी सुरु
-
अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
-
सम्पत्ति जाँबुझ आयोगलाई काम रोक्न सर्वोच्चको आदेश
-
राष्ट्रिय सुरक्षा र कूटनीतिकमा असर पार्ने फिल्मलाई प्रदर्शन अनुमति नदिइने


प्रतिक्रिया