NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ११ गते

विपद्को मौका छोपेर स्क्यामको जोखिम, सचेत रहन प्रहरीको अपिल

काठमाडौं । विपद्को संवेदनशील समयमा राहत तथा सहयोगका नाममा ठगी हुन सक्ने भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई डिजिटल माध्यम प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रहरीका अनुसार ठगी गर्ने व्यक्तिहरूले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’को नाम दुरुपयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम जम्मा गर्न लगाउन सक्छन्। त्यस्तै, सरकारी निकायका लोगो, नाम तथा ढाँचा नक्कल गरी फर्जी क्यूआर कोड बनाएर सामाजिक सञ्जालमार्फत रकम माग्न सक्ने सम्भावना पनि रहेको प्रहरीले जनाएको छ।

फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबरलगायतका सामाजिक सञ्जालमा नक्कली ‘राहत कोष’ वा ‘सहयोग अभियान’का नाममा पेज तथा समूह सञ्चालन गर्ने, ‘राहत सहयोग दर्ता’का नाममा फोन गरी व्यक्तिगत वा बैंकिङ विवरण माग्ने र फिसिङ लिंक पठाएर ओटीपी तथा पासवर्ड चोरी गर्ने गतिविधिप्रति पनि प्रहरीले सचेत गराएको छ।

अपरिचित नम्बरबाट ‘म सुरक्षित छु, मलाई पैसा पठाइदिनू’ भन्दै आर्थिक सहयोग माग्ने ठगीसमेत हुन सक्ने भएकाले पुष्टि नगरी रकम नपठाउन प्रहरीले अनुरोध गरेको छ।

प्रहरीले सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको बैंक खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal)को आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेजबाट मात्र यकिन गर्न सुझाव दिएको छ। अपरिचित व्यक्ति वा पेजबाट प्राप्त क्यूआर कोड, लिंक वा बैंक खाता नम्बरमा तत्काल विश्वास नगर्न तथा फोन वा म्यासेजमार्फत मागिएको बैंक खाता नम्बर, कार्ड विवरण, पिन र ओटीपी कसैलाई पनि नदिन प्रहरीले आग्रह गरेको छ।

अपरिचित व्यक्तिले आर्थिक सहयोग मागेमा रकम पठाउनुअघि भिडियो कल वा प्रत्यक्ष फोनमार्फत आवश्यक पुष्टि गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

विपद् राहतको नाममा कुनै व्यक्ति वा समूहले स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोलाई तत्काल जानकारी गराउन प्रहरीले आग्रह गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष