भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त
चितवन। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना सन्तान र आफन्तको खोजतलासमा रहेका परिवार अहिले डिएनए परीक्षणमार्फत भए पनि पहिचान हुने आशमा छन्।
चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघको परिसरमा मङ्गलबारदेखि बाढीमा हराइरहेका व्यक्तिका आफन्तहरूको डिएनए नमुना (रगत) संकलन भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय चितवन, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर (सेवा इकाइ चितवन) र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा हराएका आफन्तबाट रगतको नमुना संकलन भइरहेको छ।
बारा कलैयाका भगवान शर्मा भोटेकोशीको बाढीपछि छोरा हराएपछि सम्भावित स्थानमा खोजी गर्दै भौंतारिए। छोराको कुनै पत्तो नपाएपछि डिएनए परीक्षण गराएमा पहिचान हुनसक्छ भन्ने थाहा पाएर उनी नागरिकताको फोटोकपी र आफ्नो फोटोसहित चितवन आइपुगेका छन्। डिएनए नमुना दिए पनि उनको मन अझै ढुक्क हुन सकेको छैन। यदि शव नै रहेछ भने पनि पहिचान त होला भनेर उनले डिएनए नमुना त दिए, तर उनको मनमा अझै पनि छोरा जीवितै भेटिने आश बाँकी नै छ।
त्यस्तै, बर्दियाका रामबहादुर थारू पनि हराइरहेका छोराको खोजीमा ११ गतेदेखि नै चितवनमा छन्। आफ्ना छोरासहित १६ जना साथीहरू बाढीमा हराएको बताउने थारूले धेरै शव हेरे पनि छोरालाई भेट्टाउन सकेनन् । “सासको आश मरे पनि लास भए पनि भेटिन्छ कि भनेर डिएनए ‘म्याचिङ’का लागि रगत दिएको हुँ”, उनले आफ्नो पीडा पोखे। थारूलाई अझै पनि छोराहरू हराएकै स्थानमा पुगेर खोज्ने इच्छा छ। छोराले काम गर्ने कम्पनी काठमाडौंमा रहेको र कम्पनीसँग सल्लाह गरेर त्यहाँ जाने तयारीमा रहेको उनले बताए। कम्पनीले पनि खोजीमा सहयोग गरिरहेको जनाउँदै उनले कम्पनीले घटनास्थलसम्म जाने व्यवस्था मिलाइदिए हुन्थ्यो भन्ने आश व्यक्त गरे।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका पहिचान नभएका शवबाट डिएनए नमुना निकालिएको छ। उनले यहाँ आफन्तबाट संकलन गरिएको नमुना र शवको डिएनए मिलान गराउनका लागि रगत संकलन भइरहेको जानकारी दिए। यहाँ संकलित नमुना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइने उनले बताए।
नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलले हराइरहेका व्यक्तिको पहिचानका लागि शवबाट मुख्य रूपमा दाँत र हड्डीका नमुना संकलन गरिएको र त्यसको नमुनाबाट डिएनए प्रोफाइल तयार गरी आफन्तको डिएनएसँग सफ्टवेयरमार्फत म्याचिङ गराइने बताए।
उनले भने, “पहिलो प्राथमिकतामा बुबाआमा वा छोराछोरी (पहिलो तहका आफन्त) को डिएनए नमुना आवश्यक पर्छ। यदि पहिलो तहका आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको नमुना प्रयोग गरेर पनि परीक्षण गर्न सकिन्छ।”
नेपाल प्रहरीले पहिचान नभएका र बेवारिसे अवस्थामा रहेका शवलाई आफन्तजनको जिम्मा लगाउन स्वदेश तथा विदेशमा रहेका मृतकका परिवारलाई डिएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ।
स्वदेशमा रहेका परिवारका लागि चितवन बाहिर रहेका आफन्तले आफ्नो पायकपर्ने जिल्ला प्रहरी कार्यालय वा नेपाल प्रहरी अस्पताल (महाराजगञ्ज, काठमाडौं) को प्याथोलोजी ल्याबमा दुईप्रति पासपोर्ट साइजको फोटोसहित सम्पर्क गरी ताजा रगतको नमुना दिन सक्नेछन् ।
विदेशमा रहेका आफन्तका लागि विदेशमा रहेका पहिलो तहका नातेदारले सम्बन्धित देशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग वा बसोबास गरिरहेकै देशमा डिएनए प्रोफाइल तयार गरी सोको ‘सफ्ट कपी’ नेपाल प्रहरीको आधिकारिक इमेल मलबअयमष्क२लभउबउियष्अिभ।नयख।लउ मा पठाउन सक्ने छन्।


प्रतिक्रिया