विपत्तिमा पूर्ण निष्ठाका साथ भूमिका निभाउनु नै वास्तविक कर्मयोग : प्रधानमन्त्री बालेन
काठमाडौं — प्रधानमन्त्री बालेन शाहले विपत्ति र चुनौतीका समयमा धैर्य नगुमाई आफ्नो कर्तव्यप्रति पूर्ण निष्ठाका साथ अघि बढ्नुपर्ने बताएका छन्।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीहरूले मानिसको धैर्य तथा कर्मको परीक्षा लिने उल्लेख गरेका छन्।
उनले कठिन परिस्थितिमा आफ्नो जिम्मेवारीलाई इमानदारी र पूर्ण निष्ठाका साथ पूरा गर्नु नै भगवान् श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग भएको बताएका छन्।
प्रधानमन्त्री शाहले जन्माष्टमीको पावन अवसरमा सबैलाई कर्तव्यपथमा दृढतापूर्वक टिकिरहने धैर्य, शक्ति र प्रेरणा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
उनले आफ्नो सन्देशमा भनेका छन्, “विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्। यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो।”
जन्माष्टमीका अवसरमा प्रधानमन्त्री शाहले देशवासी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेका छन्।


प्रतिक्रिया