NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २६ गते

सशस्त्र प्रहरीमा ६ सय ६६ जना कर्मचारी माग, कक्षा ८ पास गरेकाले पनि आवेदन दिन पाउने

काठमाडौं । सशस्त्र प्रहरी बलमा ठूलो संख्यामा कर्मचारी माग भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको मानवस्रोत निर्देशनालयले विभिन्न पदमा ६ सय ६६ नयाँ भर्ना आह्वान गरेको हो ।

सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी जवान (सामान्य समूह) तर्फ विभिन्न पदहरू र सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) का लागि दरखास्त आह्वान गरेको छ । जसमा सशस्त्र प्रहरी जवान (भान्छे), सशस्त्र प्रहरी परिचर (कुचीकार), सशस्त्र प्रहरी परिचर (सूचिकार), सशस्त्र प्रहरी परिचर (केशकर्तक), सशस्त्र प्रहरी परिचर (चर्मकर्मी) र सशस्त्र प्रहरी परिचर (माली) गरी विभिन्न पदमा आवेदन खुलाइएको छ । कक्षा ८ उतीर्ण गरेकाले पनि आवेदन दिन पाउनेछन् ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले असोज १० गतेदेखि असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन् । उम्मेदवारहरूले तोकिएका कार्यालयहरूमा उपस्थित भई वा अनलाइन माध्यमबाट दरखास्त फारम भर्न सक्ने व्यवस्था गरिएको छ । दरखास्त दस्तुरस्वरूप जवानका लागि ३०० रुपैयाँ र परिचरका लागि २०० रुपैयाँ तोकिएको छ। थप समूहमा आवेदन दिने उम्मेदवारले प्रति समूह २० प्रतिशतका दरले थप दस्तुर बुझाउनुपर्नेछ ।

सशस्त्र प्रहरी जवानका लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्नेछ भने परिचर पदका लागि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ । शैक्षिक योग्यताको हकमा जवानका लागि साधारण लेखपढ गर्न जान्ने हुनुपर्ने र परिचरका लागि सम्बन्धित ट्रेडमा सीप भएको हुनुपर्ने मापदण्ड तोकिएको छ । उचाइ, छाती र तौलका हकमा पनि तोकिएको शारीरिक मापदण्ड पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

छनोट प्रक्रियामा प्रारम्भिक शारीरिक परीक्षण, शारीरिक सहिष्णुता परीक्षा, विस्तृत स्वास्थ्य परीक्षण, लिखित परीक्षा (जवानका लागि), प्रयोगात्मक परीक्षा (परिचरका लागि), विशेष स्वास्थ्य परीक्षण र अन्तर्वार्ता समावेश गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष