राइनासका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रकम हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, रोजगार संयोजक शेखरनाथ न्यौपाने, लेखापाल नवीनकुमार बरालसहित १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
मुद्दा दायर हुनेमा राइनास नगरपालिका–१ का तत्कालीन वडा अध्यक्ष रमेश न्यौपाने, वडा नं. ३ का तत्कालीन वडा सदस्य ओजराज पौडेल, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष जैमान गुरुङ, वडा नं. ५ का तत्कालीन वडा अध्यक्ष नन्दबहादुर कुमाल, वडा नं. ६ का तत्कालीन वडा अध्यक्ष रूकबहादुर तामाङ गुरुङ, वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष कृष्णप्रसाद लामिछाने र वडा नं. ७ का तत्कालीन वडा अध्यक्ष माधवप्रसाद पराजुली छन्।
आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट राइनास नगरपालिकालाई १६ लाख ७२ हजार रुपैयाँ सशर्त अनुदान उपलब्ध गराइएको थियो।
उक्त रकम आर्थिक वर्षको अन्तिम दिन प्रचलित कानुनबमोजिम संघीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने भए पनि फिर्ता नगरी तत्कालीन रोजगार संयोजक न्यौपानेले पेश्की लिएको अख्तियारको आरोप छ। उनले उक्त रकम अन्य प्रतिवादीहरूको खातामा जम्मा गरेको र तोकिएको कार्यक्रम सञ्चालनसमेत नगरेको आयोगले जनाएको छ।
अख्तियारका अनुसार पेश्कीबापत लिएको रकम हालसम्म फर्छ्यौट भएको छैन। उक्त रकमबाट तोकिएको कार्यक्रम सञ्चालन भएको प्रमाणसमेत नदेखिएको आयोगको दाबी छ। यसबाट सरकारी सम्पत्तिमा हानिनोक्सानी पुर्याई गैरकानुनी लाभ लिएको अख्तियारको आरोप छ।
यसैगरी, तत्कालीन रोजगार संयोजक न्यौपानेले नगरपालिकाबाट २०७६ वैशाख १६ मा बुझेको एक थान ल्यापटप, एक थान प्रिन्टर र एक थान क्यामेरा कार्यालयबाट बर्खास्त भएपछि पनि बरबुझारथ नगरेको आयोगले जनाएको छ।
२०७७ कात्तिक १ देखि कार्यालयबाट बर्खास्त भएका न्यौपानेले ती सामग्री हालसम्म फिर्ता नगरेको र सामग्रीको परल मूल्य १ लाख ६७ हजार २५६ रुपैयाँ बराबरको हानिनोक्सानी भएको अख्तियारको दाबी छ।
ताजा अपडेट
-
राइनासका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि सर्यो, असोज १८ गते उद्घाटन
-
गृह मन्त्रालयद्वारा एकैपटक एकसय कर्मचारीको सरुवा
-
भारतीय राजदूत श्रीवास्तवसँग प्रधानमन्त्री शाहको बिदाइ भेट
-
चोलेन्द्र पक्राउप्रति सर्वोच्चको आपत्ति, कानुनी प्रक्रिया पालना गर्न आग्रह


प्रतिक्रिया