NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज १४ गते

अमेरिकाले तीन इरानी कमान्डरको सूचना दिनेलाई २ अर्ब ३० करोड पुरस्कार दिने

काठमाडौं । अमेरिकाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)को एयरोस्पेस फोर्सका तीन कमान्डरसँग सम्बन्धित सूचना दिने व्यक्तिलाई १५ मिलियन अमेरिकी डलर (करिब २ अर्ब ३० करोड ४४ लाख रुपैयाँ)सम्मको पुरस्कार दिने घोषणा गरेको छ ।

बीबीसी फारसीका अनुसार अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो ।

पुरस्कार घोषणा गरिएका तीन कमान्डरमा ब्रिगेडियर जनरल अब्दुल्ला मेहराबी, अहमद जाफराबादी र अली असगर नौरुजी रहेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार ब्रिगेडियर जनरल अब्दुल्ला मेहराबी आईआरजीसीको एयरोस्पेस फोर्सअन्तर्गत रहेको ‘जिहाद रिसर्च एन्ड सेल्फ–सफिसिएन्सी अर्गनाइजेसन’का प्रमुख हुन् ।

त्यस्तै, अहमद जाफराबादी आईआरजीसीको एयरोस्पेस फोर्सका वरिष्ठ कमान्डर हुन् । उनी उक्त बलको सञ्चालनसम्बन्धी व्यवस्थापनका लागि जिम्मेवार रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकाले अली असगर नौरुजीलाई ‘रिभोलुसनरी गार्ड्स रेडिनेस एन्ड सपोर्ट’का उपनिर्देशकका रूपमा उल्लेख गरेको छ ।

यसैबीच, अमेरिकाले इरानको रक्षा मन्त्रालयसँग सम्बन्धित १० व्यक्ति तथा संस्थामाथि प्रतिबन्ध समेत लगाएको छ ।

अमेरिकी वित्त मन्त्रालयअन्तर्गतको अफिस अफ फरेन एसेट्स कन्ट्रोल (ओएफएसी)ले सार्वजनिक गरेको प्रतिबन्ध सूचीमा इरानसँगै मेक्सिको, चीन र पाकिस्तानका नागरिकहरू पनि समावेश छन् ।

ताजा अपडेट

नेपालवाच विशेष