रसुवागढी र तातोपानी बन्द हुँदा कोरलाबाट भित्रियो ३ हजार ७२५ मेट्रिक टन फलफूल
काठमाडौं – मुस्ताङको कोरला नाकाबाट आइतबारसम्म चीनबाट ३ हजार ७२५ मेट्रिक टन फलफूल आयात भएको छ। रसुवागढी र तातोपानी नाका बन्द भएपछि भदौ २० गतेदेखि कोरलाबाट चिनियाँ फलफूल भित्रिन थालेका हुन्।
लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार करिब दुई महिनामा यस नाकाबाट ११ प्रकारका फलफूल आयात भएका छन्। रसुवाको भोटेकोशीमा आएको बाढीपछि भदौ १० गतेयता रसुवा–केरुङ नाका पूर्ण रूपमा बन्द छ। सिन्धुपाल्चोकको तातोपानी नाका पनि लामो समयदेखि बन्द रहेकाले व्यवसायीले कोरलाबाट फलफूल ल्याउन थालेका हुन्।
क्वारेन्टाइन कार्यालयकी प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार दसैँ, तिहार र छठको मागलाई लक्षित गरी ल्याइएका फलफूलमध्ये बोक्रासहितको ओखर र स्याउको परिमाण सबैभन्दा बढी छ। कोरलाबाट ड्रागन फ्रुट, नासपाती, आँप, अङ्गुर र किसमिस पनि भित्रिएका छन्। फलफूलबाहेक फर्सीको बीउ, लसुन र फापरसमेत आयात भएको उनले बताइन्।
उत्तरी नाकाको विकल्पका रूपमा कोरलाबाट आयात बढे पनि नेपालभित्रको सडक अवरोधले ढुवानीमा समस्या परेको थियो। असोज ११ गतेको बाढीपहिरो र नदी कटानले बेनी–जोमसोम सडक दुई साताभन्दा बढी अवरुद्ध हुँदा क्वारेन्टाइन परीक्षण र भन्सार जाँचपास भइसकेका फलफूलसमेत गन्तव्यमा पुग्न सकेका थिएनन्।
ढुवानी रोकिँदा एक कन्टेनरमा ल्याइएको ड्रागन फ्रुट बिग्रन थालेपछि व्यवसायीले मुस्ताङका स्थानीयलाई निःशुल्क वितरण गरेका थिए।
ताजा अपडेट
-
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७३ करोड ४९ लाख बिगो मागदाबी
-
बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
-
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
-
एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्दै
-
मलेखु-मुग्लिन सडक आज दुई घण्टा बन्द रहने


प्रतिक्रिया