NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १९ गते

१५ वर्षदेखि अधुरै कमला पुल, कहिले हट्छ स्थानीयको सास्ती ?

काठमाडौं-  सिरहा र धनुषालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको १५ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। डेढ दशकअघि सुरु भएको यो आयोजनाले पूर्णता नपाउँदा स्थानीय बासिन्दा जोखिमपूर्ण डुंगा यात्रा गर्न बाध्य छन्। ठेक्का सम्झौताको करिब ९३ प्रतिशत भुक्तानी भइसक्दा पनि पुल सञ्चालनमा नआउनुले सार्वजनिक जवाफदेहितामाथि प्रश्न उठाएको छ।

हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय जनकपुरका अनुसार २४ करोड ९० लाख ९७ हजार रुपैयाँको कुल लागतमध्ये निर्माण कम्पनीले हालसम्म २३ करोड १९ लाख रुपैयाँ भुक्तानी पाइसकेको छ। सन् २०११ मा पप्पु-लुम्बिनी जेभीसँग सम्झौता भएको उक्त पुल ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य थियो। पटकपटक म्याद थप्दा पनि काम पूरा नभएपछि २०७६ सालमा लुम्बिनी बिल्डर्सलाई बाँकी कामको जिम्मा दिइएको थियो।

सन् २०२१ मा आएको बाढीले पुलका दुईवटा पाया भासिएपछि निर्माण कार्य थप अन्योलमा परेको थियो। त्यसपछिको प्राविधिक जटिलता र बीमा विवादका कारण काम वर्षौंसम्म लम्बिएको छ। आयोजना प्रमुख कृष्णकुमार महतोले प्राविधिक डिजाइन पुनरावलोकनका कारण ढिलाइ भएको र आगामी मंसिरको पहिलो साताभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए।

पुल नहुँदा स्थानीयले दैनिक आर्थिक मार खेप्नुपरेको छ। मोटरसाइकल चालकले नदी वारपार गर्न डेढ सय रुपैयाँ र पैदलयात्रीले ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ। पुल सञ्चालनमा नआउँदा स्थानीयले ३० किलोमिटरको दूरी पार गर्न ९० किलोमिटर घुमेर जानुपर्ने अवस्था छ। यसले स्थानीयको समय र खर्च मात्र बढाएको छैन, कृषि ढुवानी, शिक्षा र स्वास्थ्य सेवामा पनि असर पारेको छ।

महालेखापरीक्षकको प्रतिवेदनले समेत पुलको डिजाइन र निर्माण गुणस्तरमा प्रश्न उठाएको छ। प्रतिवेदनका अनुसार बाढीको प्रभाव क्षेत्रलाई ध्यानमा राख्दा पुलको लम्बाइ पर्याप्त नभएको र निर्माणपूर्व भारवहन परीक्षणसमेत नगरिएको उल्लेख छ। सिरहा नगरपालिका-६ का वडाध्यक्ष इन्द्रजित यादवले मन्त्री र सरकारी अधिकारीहरूले अनुगमनका नाममा आश्वासन मात्र दिने गरेको भन्दै आक्रोश पोखेका छन्।

ताजा अपडेट

नेपालवाच विशेष