रास्वपाको २० सदस्यीय टोली ११ दिने चीन भ्रमणमा जाँदै
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल आइतबार ११ दिने चीन भ्रमणमा प्रस्थान गर्ने भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन जान लागेको टोलीलाई आइतबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ गर्ने कार्यक्रम छ। त्यसअघि प्रवक्ता खरेलले सञ्चारकर्मीसँग समसामयिक राजनीतिक विषयमा अन्तरक्रिया गर्ने पार्टीले जनाएको छ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चीनको राजधानी बेइजिङसहित हाङचाउ, सिचुवानलगायत विभिन्न सहरको अवलोकन गर्नेछ।
आचार्य नेतृत्वको टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित २० जना सहभागी छन्। टोलीमा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन्।
प्रतिनिधिमण्डलको भ्रमणको प्रमुख उद्देश्य चीनले नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता (एआई) र औद्योगिक विकासका क्षेत्रमा हासिल गरेका उपलब्धिबारे अध्ययन गर्नु रहेको टोलीका सदस्यहरूले बताएका छन्।
भ्रमणका क्रममा चीनले विकास गरेका प्रविधि र अवलम्बन गरेका नीतिलाई नेपालको आवश्यकता र क्षमताअनुसार कृषि आधुनिकीकरण, स्वास्थ्य, शिक्षा, सार्वजनिक सेवा प्रवाह, औद्योगिक उत्पादन तथा उद्यमशीलताको विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा अध्ययन र छलफल गरिनेछ।
टोलीका सदस्यहरूले भ्रमणले नेपाल र चीनबीच आपसी समझदारी तथा सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै आर्थिक, प्राविधिक र विकासका क्षेत्रमा दीर्घकालीन लाभ दिने सहकार्यका सम्भावना पहिचान गर्न भ्रमण उपयोगी हुने उनीहरूको भनाइ छ।
चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलका सदस्यहरूले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए।
ताजा अपडेट
-
सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
एनपीएल : आजको खेलमा चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने
-
बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित
-
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
-
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आज हर्षोल्लासपूर्वक मनाइँदैछ छठ पर्व

प्रतिक्रिया