अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आज हर्षोल्लासपूर्वक मनाइँदैछ छठ पर्व
काठमाडौं। आस्था र निष्ठाको महान पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना तथा पूजामा आधारित यो विशेष पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको हो।
ऐतिहासिक तथा पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार, द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख पाइन्छ। लोककथन एवं जनविश्वासबमोजिम सोही कालखण्डदेखि छठ पर्व मनाउने परम्पराको थालनी भएको मानिन्छ।
त्यसैगरी, सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। यसको फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। सोही समयदेखि नै ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा स्पष्ट रूपमा उल्लेख गरिएको छ।
संसारका सम्पूर्ण भौतिक विकासक्रम प्रत्यक्ष रूपमा सूर्यमाथि नै आधारित छन्। सूर्यको अमूल्य शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी तथा जीवजन्तु कसैको पनि अस्तित्व सम्भव छैन।
सूर्यको किरणको चिकित्सात्मक महत्त्वमाथि कैयौँ प्रख्यात चिकित्सकहरूले ग्रन्थसमेत रचना गरेका छन्। सूर्यको किरणबाटै कैयौँ असाध्य तथा अक्षय रोगहरूको आश्चर्यजनक उपचार सम्भव भएको पनि वैज्ञानिक तथ्यहरूले पुष्टि गरेका छन्।
पौराणिक ग्रन्थहरूमा आफ्नै पिता भगवान् श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापका कारण कुष्ठरोगबाट पीडित हुनुभएका साम्बले सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त भएको कथा चर्चा गरिएको छ। छठ पर्वमा विधिपूर्वक व्रत बस्नाले दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने गहिरो जनविश्वास रहिआएको छ।
यस पर्वमा बाँसको टोकरीमा झुप्पा–झुप्पा फलफूलहरू राखेर चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सम्पूर्ण सन्तानको सुस्वास्थ्य र कल्याण हुने जनविश्वास छ। यस पर्वमा स्वयं व्रत बस्न नसक्ने व्यक्तिहरूले पनि अर्को व्रत गर्नेमार्फत आफ्नो मनोकांक्षा पूरा गराउने परम्परा छ।
व्रतविधि
छठ पर्वको पहिलो दिन अर्थात् कार्तिक शुक्ल चतुर्थीका दिन व्रतालुहरूले स्नान गरी एक छाक मात्र सात्विक भोजन गर्ने गर्दछन्। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर मिसाएर बनाइएको विशेष खीर (खरना) षष्ठी मातालाई चढाएर व्रतालुहरूले प्रसादस्वरूप ग्रहण गर्ने गर्दछन् भने यस दिन नुन नखाएर एक छाक मात्र फलाहार गर्ने विधान छ।
यस पर्वको सबैभन्दा मुख्य दिन मानिने कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिने विधिविधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले राससलाई जानकारी दिनुभयो। “षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः पूजा–आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पवित्र पर्वको समापन हुन्छ,” उहाँले बताउनुभयो।
कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा-आराधना गरी अर्घ्य अर्पण गरेमा विभिन्न चर्मरोगबाट मुक्ति पाइन्छ भन्ने दृढ धार्मिक विश्वाससमेत जोडिएको छ। विसं २०४६ अघिसम्म तराई तथा मधेशका सीमित क्षेत्रमा मात्र मनाइने छठ पर्वले समयसँगै बृहत् रूप लिँदै अहिले राष्ट्रिय तथा सांस्कृतिक स्वरूप ग्रहण गरेको छ।
विसं २०४६ देखि नै नेपाल सरकारले यस पर्वको अवसरमा मुलुकभर सार्वजनिक बिदा दिने गरेकोमा, बीचका केही वर्षहरूमा उक्त बिदा कटौती गरिए तापनि हाल पुनः सरकारले सार्वजनिक बिदा दिने निर्णयलाई निरन्तरता दिँदै आएको छ।
यस वर्षको छठ पर्वका लागि राजधानीको ऐतिहासिक स्थल गुह्येश्वरीदेखि गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरी लगायत वागमती, नख्खु र विष्णुमती नदी किनारहरू सिंगारिएर झकिझकाउ पारिएका छन्। छठका व्रतालुहरू कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो र पवित्र खानपान अपनाएर पूर्ण शुद्धताका साथ बस्ने गर्छन्।
कतिपय निष्ठावान् व्रतालुहरूले त कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याज लगायतका तामसी खाद्यपदार्थ पूर्ण रूपमा त्यागी सात्विक भोजन मात्र गरेर व्रतको पूर्वतयारी गर्ने गरेका छन्। तसर्थ, कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चार दिन लामो यो कठोर एवं पवित्र छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।
ताजा अपडेट
-
सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
एनपीएल : आजको खेलमा चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने
-
बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित
-
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
-
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आज हर्षोल्लासपूर्वक मनाइँदैछ छठ पर्व

प्रतिक्रिया