NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ३० गते

पोखरा एभेन्जर्सको सहज जित, काठमाण्डु गोर्खाज ५५ रनले पराजित

काठमाडौं: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रनको विशाल योगफल तयार गरेको थियो।

पोखराको जितमा कुशल भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रनको उत्कृष्ट पारी खेले। त्यस्तै, युवराज सिंह साम्राले ५५ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै ८९ रन जोडे। कप्तान चमिका करुणारत्नेले अविजित १९ रन बनाए। काठमाण्डुका लागि बलिङतर्फ करण केसीले दुई र जहानदाद खानले एक विकेट लिएका थिए।

२२५ रनको लक्ष्य पछ्याएको काठमाण्डु गोर्खाज १९.५ ओभरमा १६९ रनमा समेटियो। काठमाण्डुका लागि स्मित पटेलले ३४, राशिद खानले ३१, सोनु देवकोटाले २९, विल बोसिस्टोले २६ र जहानदाद खानले २४ रन बनाए पनि टोलीलाई हारबाट बचाउन सकेनन्। पोखराका बलर दिनेश खरेलले ४ र विपिन खत्रीले ३ विकेट लिए। सनी बिक, युवराज साम्रा र रमेश मेन्डिसले एक-एक विकेट लिए।

जारी प्रतियोगितामा पोखराको यो दोस्रो जित हो। यसअघि पोखराले सात खेलमध्ये पाँचमा हार बेहोरेको थियो। आजको खेलमा पराजित भए पनि काठमाण्डु गोर्खाजले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। आजै भएको अर्को खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हराएको थियो।

ताजा अपडेट

नेपालवाच विशेष