चितवन राइनोजले काठमान्डु गोर्खाजलाई दियो २०५ रनको लक्ष्य
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा चितवन राइनोजले काठमान्डु गोर्खाजलाई जितका लागि २०५ रनको विशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ४ विकेट गुमाएर २०४ रन बनायो।
चितवनका लागि श्रीलंकाली ब्याट्सम्यान कामिल मिसहराले अविजित १२० रनको शतकीय इनिङ खेले। उनले ५९ बलको सामना गर्दै १० छक्का र ५ चौका प्रहार गरे। मिसहरा एनपीएलको जारी संस्करणमा शतक प्रहार गर्ने दोस्रो ब्याट्सम्यान बनेका छन्। यसअघि पोखरा एभेन्जर्सका युवराजसिंह सामराले शतक बनाएका थिए।
अनुभवी खेलाडी रवि बोपाराले ४२ बलमा ५३ रन जोड्दै टोलीको स्कोर उकासे। उनले २ छक्का र ३ चौका प्रहार गरे। मिसहरा र बोपाराले तेस्रो विकेटका लागि १५४ रनको साझेदारी गरेका थिए। बोपाराका लागि यो खेल उनको करियरको ५००औँ टी-२० खेल हो।
चितवनका ओपनर देव खनाल १७ रन र डेविड मलान शून्य रनमा आउट भए। काठमान्डुका कप्तान करण केसीले दुवैलाई लगातार बलमा पेभेलियन फर्काएका थिए। विवेक यादव ८ रनमा आउट भए भने कुशल मल्ल शून्य रनमा नटआउट रहे। काठमान्डुका बलर करण केसी र रासिद खानले समान २-२ विकेट लिए।

प्रतिक्रिया