NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ३ गते

ठगी तथा संगठित अपराधको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगी गरी गैरकानुनी रूपमा रकम संकलन गरेर मलेसिया पठाएको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्। त्यस्तै, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ पनि पक्राउ परेका छन्।

सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न निकायबाट प्राप्त पत्र तथा विकास रनाभाटसहितका व्यक्तिले दिएको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान सुरु गरिएको हो।

नेपाल र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी अमेरिकी डलर र बेलायती पाउन्ड मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको प्रहरीको आरोप छ।

प्रहरीका अनुसार सम्झौताको दायरा र प्रचलित कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराइएको थियो। पद तथा जिम्मेवारीको दुरुपयोग गर्दै संगठित समूहलाई लाभ पुग्ने गरी निर्णय गरिएको आरोपसमेत उनीहरूमाथि लगाइएको छ।

यस प्रकरणमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट गत मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिइएको सीआईबीले जनाएको छ।

प्रहरीले उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष