स्थानीय तह निर्वाचनको तयारीबारे निर्वाचन आयोगमा शीर्ष नेताहरूसँग छलफल
काठमाडौँ । स्थानीय तह निर्वाचनको तयारी तथा व्यवस्थापनका विषयमा निर्वाचन आयोगले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल सुरु गरेको छ।
शुक्रबार निर्वाचन आयोगमा आयोजित छलफलमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सहभागी भएका छन्।
छलफलमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।
त्यसैगरी रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेल, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईलगायत विभिन्न दलका नेताहरूको पनि उपस्थिति रहेको छ।
आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आयोगले राजनीतिक दलहरूसँग परामर्श थालेको हो। बैठकमा निर्वाचनको तयारी, सञ्चालन तथा व्यवस्थापनका विषयमा छलफल हुनुका साथै राजनीतिक दलहरूबाट आवश्यक सुझावसमेत संकलन गरिने आयोगले जनाएको छ।

प्रतिक्रिया