NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ५ गते

राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व चुहावट नियन्त्रण गर्न र तोकिएको लक्ष्य पूरा गर्न भन्सार प्रशासनलाई कडा निर्देशन दिएका छन्। मोरङको विराटनगर भन्सार कार्यालयको एकीकृत भन्सार जाँचपास चौकीको स्थलगत निरीक्षणका क्रममा उनले राजस्व संकलनमा शून्य सहनशीलताको नीति अपनाउन आग्रह गरे।

शुक्रबार आयोजित कार्यक्रममा मन्त्री वाग्लेले राजस्व संकलनको लक्ष्य पूरा गर्न मन्त्रालयले आवश्यक पर्ने पूर्वाधार र सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए। उनले लक्ष्यभन्दा कम राजस्व संकलन गर्ने कार्यालयहरू निगरानीमा रहने चेतावनी दिँदै भन्सार कार्यालय र तिनका नेतृत्वको कार्यसम्पादन मूल्यांकन राजस्व संकलनको आधारमा गरिने स्पष्ट पारे। सरकारको १६ खर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पूरा गर्न कुनै कसर बाँकी नराख्न उनले कर्मचारीलाई निर्देशन दिएका छन्।

राजस्व चुहावट गर्ने र छल्नेलाई भन्सार क्षेत्रमा कुनै पनि संरक्षण हुन नहुने बताउँदै उनले भन्सार प्रशासनमा सेवाग्राहीले भोग्नुपर्ने झन्झट अन्त्य गर्न आग्रह गरे। साथै, व्यापार प्रवर्द्धन र राजस्व संकलनलाई सहज बनाउँदै व्यावसायिक वातावरण निर्माणमा जोड दिनुपर्ने उनले बताए।

सोही कार्यक्रममा राजस्व महाशाखा प्रमुख तथा निमित्त अर्थसचिव डा. सुमन दाहालले भन्सार बिन्दुमा एमआरपी घोषणालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले भन्सार क्षेत्रमा दुईवटा गेटको आवश्यकता रहेको र अनलाइन मूल्यांकनको प्रभावकारिताका विषयमा थप छलफल आवश्यक रहेको उल्लेख गरे।

ताजा अपडेट

नेपालवाच विशेष