NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ७ गते

प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै छन् । प्रधानमन्त्री पद सम्हालेपछि शाहको यो पहिलो विदेश भ्रमण हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । उनले सोमबार नै नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

यसअघि आजै भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गरिनेछ । साथै, व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तारलगायतका क्षेत्रमा द्विपक्षीय आर्थिक सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल हुनेछ ।

दुई देशबीच शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम पनि आयोजना हुनेछ । उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा लगानीका अवसर, सरकारले अघि सारेका नीतिगत व्यवस्था तथा लगानी आकर्षित गर्न गरिएका प्रयासबारे जानकारी गराउनेछन् ।

कार्यक्रममा भारतीय व्यवसायीका चासो र सरोकार सुन्नुका साथै नेपाली तथा भारतीय व्यवसायीबीच सहकार्य विस्तार गर्ने वातावरण निर्माण गरिने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मीलगायत सहभागी हुनेछन् ।

भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ ।